इटहरी : ऊ गएछ समुद्रतिर
त्यहाँ उसले
समुद्रको जीवनवादी गीत सुनेछ
छालहरूको सङ्घर्षमय जीवन नियाँलेछ
समुद्रको बालबच्चासँग खुब खेलेछ
माछाहरूको प्रेरणादायिक कथा सुनेछ
बडेमान जहाजहरूको हर्षाेल्लास देखेछ
अनि बुझेछ –
दुःखभित्र नै सुख लुप्त हुँदोरहेछ ।
इटहरीका कवि विकेश कविनले ‘मान्छे र समुद्र’ शीर्षकको कविता सुनाउँदा हलमा जम्मा भएका साहित्यअनुरागीले परर्र ताली बजाए ।
शुक्रबार साँझ इटहरीमा रहेको डि–सनसाइन क्याफेले आयोजना गरेको ‘कफि, कवि र कविता’ नामक कार्यक्रममा कवि कविनले आफ्नो पहिलो कविता सुनाएर जम्मा भएका मानिसको ध्यान एकाग्र बनाए ।
उनले कार्यक्रममा आधा दर्जन कविता सुनाएका थिए । इटहरी आसपासका दुई दर्जन बढी मानिसहरु भेला भएको कार्यक्रममा उनले ‘मान्छे र समुद्र’, ‘निश्चल वसन्ती’, ‘विनाश’, ‘फूलहरुको महाक्रान्ती’, ‘जीवनको चिप्लेटी’ र ‘एकादेशमा रुखहरु थिए’ शीर्षकका कविता सुनाएका थिए ।
आमन्त्रित अतिथिहरु कफिको चुस्कीसँगै कवितामा रमाउन पाउँदा प्रफुल्ल देखिन्थे ।
आदि बाटोमा भएर होला हामीले,
घाम आधामात्र बुझ्यौं,
जून आधामात्र बुझ्यौं,
अँध्यारो–उज्यालो सबै–सबै आधामात्र बुझ्यौं,
तर,
बाटो अपुरै छोडेर हो,
हामीले प्रेमलाई पूराका पूरा बुझ्न सकेका ।
अर्का कवि किरण चौलागाईँ ‘शून्यानन्द’ ले ‘आधा बाटो’ शीर्षकको कविता सुनाउँदा उपस्थित मानिसहरु एक अर्कामा कानेखुशी गर्दै वाहवाही गरिरहेका थिए ।
अन्य समयको साहित्यिक माहोल भन्दा भिन्न रहेको उक्त कार्यक्रममा शून्यानन्दले ‘आधा बाटो’, ‘एउटा मन छ’, ‘उचाई’, ‘एकछिनमा जे पनि हुन सक्छ’, ‘दुश्मन’ र ‘सम्बन्ध’ शीर्षकका कविता सुनाएका थिए ।
आँफूहरुले केही पृथक गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सफल पौडेलले बताए ।
रचनात्मक काम गर्न आँफूहरु उत्प्रेरित रहेको उदृत गर्दै उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिईने बताए ।
‘कविता पनि टिकटमा सुनिनुपर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रम गरिएको हो,’ कार्यक्रम संयोजक युवराज काफ्लेले भने, ‘नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ भन्नका लागि पनि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ ।’
उनले हरेक महिनाको एउटा शुक्रवार कार्यक्रम गरिने बताउँदै नयाँ पुस्तालाई समेट्ने दाबी गरे । थोरै रकमको भएपनि टिकटमा कविता सुन्ने बानी बसाल्नका लागि आँफूहरुले टिकटमा कविता आयोजना गरिएको काफ्लेको भनाई रहेको थियो ।
Discussion about this post