इटहरी : सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ का पर्शुराम भट्टराईको हत्या भएको भन्दै पीडित परिवारले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना गेट अगाडि धर्ना दिदैँ प्रदर्शन गरेका छन् ।
विहीबार इटहरीको पृतना गेट अगाडि मृतक भट्टराईको न्यायको माग गर्दै पीडित परिवारका आफन्तले प्रदर्शन गरेका हुन् । मृतक भट्टराईकी श्रीमती कमला बोगटी भट्टराईका अनुसार ५ जेठ ०७७ मा कुटपिट गरी उनको मृत्यु भएको थियो ।
नेपाली सेनाको २ नम्बर बाहिनी हिले धनकुटामा सेनाका मेजर पदमा कार्यरत रहेका उनको मृत्यु नभई हत्या भएको पीडित परिवारले बताउँदै आएका छन् ।
५ गते कुटपिट गरी गम्भीर घाईते भएका उनको १२ गते विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
‘जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेर गर्न जादाँ समेत प्रहरीले जाहेरी लिन मानेन,’ मृतककी श्रीमती कमलाले भनिन्, ‘घटना ढाकछेप गर्नका लागि सेना र प्रहरी मिलेका छन्, हामीले न्याय पाउनका निम्ति महिनौँदेखि धाएपनि न्याय पाएनौँ ।’
घटना संकास्पद भएको उल्लेख गर्दै उनले सेनाका तत्कालीन बाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी दिए पनि अनुसन्धान नभएको गुनासो गरिन् । मृतक भट्टराईको हत्या नै भएको दाबी गर्दै पीडित परिवारले निष्पक्ष छानबिन सहित दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै आएका छन् ।
३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भएर लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएपनि तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिईकन अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना रहस्यमय भएको भन्दै परिवारले न्यायको चित्कार गर्दै आएका छन् ।
‘अस्पताल भर्ना गरिएपछि मात्र हामीलाई थाहा भयो, पछि हेर्दा शरीरभरी चोटैचोट थियो,’ कमलाले भनिन् ।
दुवै आँखामा निल डाम, दाहिने हात, घुडा लगायत शरीरको विभिन्न भागमा थुप्रै ठाउँमा चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा फेला परेको र परिवारलाई जानकारी नै नगराएको भन्दै सेनाको ब्यारेक अगाडि पीडितका आफन्तले धर्ना सँगै प्रदर्शन गरेका हुन् ।
आँफूहरुले न्याय पाउनुपर्ने नभए जस्तोसुकै आन्दोलन गर्न पनि पछाडि नहट्ने पीडितको भनाई छ ।
मृतकका बाबू दिलबहादुर भटट्टराईले आफ्नो छोराको मृत्यु नभई हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न माग गरे ।
‘उपचारकै क्रममा जेठ १२ गते छोराको अस्पतालमै मृत्यु भएको रहेछ, हामीलाई कुनै किसिमको जानकारी समेत नगराई आफूखुसी शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृहस्थित मर्चरी बक्समा राखेको भन्ने बुझिन आयो,’ उनले भने, ‘छोराको आफैँ मृत्यु नभई हत्या भएको हो र अहिलेसम्म घटनामा संलग्नमाथि अनुसन्धान र कारबाही भएको छैन ।’
उनले छोरा पर्शुरामको हत्यामा संलग्न १४ जना मानिस रहेको दाबी गर्दै उनीहरुमाथि निष्पक्ष छानबिनको माग गरेका छन् ।
तत्कालीन धनकुटा २ नम्बर बाहिनीका बाहिनीपति यमप्रसाद ढकाल, मेजर राजकुमार बस्नेत, पूर्वसुबेदार मेजर तुन्जिङ शेर्पा, सुबेदार मेजर बाबुराम कार्की, सुबेदार दिलबहादुर कार्की, जमदार अकलबहादुर घले मगर, हुद्धा शेरबहादुर लिम्बू, हुद्धा गणेश श्रेष्ठ, हुद्धा अमरबहादुर देउजा, अमल्दार योगेन्द्र बास्तोला, नायक भुवन थापा, लेशनायक लिला विक, सैनिक जवान आर्मस्ट्रङ्ग कबिरथ र सैनिक जवान दुर्गा बहादुर तामाङमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न पीडितको माग रहेको छ ।
‘धनकुटामा रहेको २ नम्बर वाहिनी हिलेमा सम्पर्क गर्दा इटहरी पृतना जानु भन्ने र कतै भनेमा पेन्सन रोक्ने र खाने पाउने सुविधासमेत रोकिदिने धम्की दिईएको छ’, पीडितले भने ।
Discussion about this post