तरहरा : इटहरी २० तरहरामा रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थालाई पूर्व अध्यक्ष कृष्ण अधिकारीले तीन पेज लामो सुझाव दिएका छन् ।
केही महिना अगाडि अनियमितता भएको समाचार बाहिरिएसँगै अधिकारीले संस्थाका केही कर्मचारीको व्यक्तिवाद हावी भएको भन्दै तीन पेज लामो सुझाव दिएका हुन् ।
‘२०५७ सालमा स्थापित कामधेनु दूग्ध विकास सहकारी संस्था, यस संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुको साझा सम्पत्ती हो । साझा सम्पत्ती भएपछि दायित्व, सरोकार र चासो पनि साझा हुनु पर्दछ । अत्यन्तै कष्टसाथ उठेको यो संस्था देश कै पहिलो दुग्ध सहकारी संस्था पनि हो । संस्थापक सदस्य र तीन कार्यकाल सम्म संस्थाको अध्यक्ष भएको नाताले संस्थाको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराउनु मेरो कर्तव्य हो भन्ने ठानेर यो सुझाव तयार गरेको हुँ,’ सुझाव पत्रमा भनिएको छ, ‘संस्थाले दिन प्रतिदिन प्रगति गर्दै जानुपर्छ । त्यसका लागि दूग्ध पदार्थको गुणस्तरीय उत्पादन, स्रोतको वृद्धि तथा बजारको विस्तार, उन्नत पशुपालनलाई प्रोत्साहन र किसानको हितका कार्यक्रम ल्याउनु पर्ने थियो । कारोबारमा वृद्धि हुँदै जानुपर्ने थियो, तर केही वर्ष देखि संस्थाले अपेक्षा गरे अनुसार कारोबार अगाडि बढाउन सकेको छैन । कारोबार बढ्नुको सट्टा घटिरहेको छ । दैनिक १२ हजार लिटर सम्म संस्था आफैँले कारोबार गरेकोमा आज आएर ५÷६ हजार लिटरमा सीमित भएको छ ।’
यसअघि इटहरी १ आँपगाछीमा निर्माणाधिन रहेको कामधेनुको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्ती बीचको टेलिफोन संवादमा बनले अनियमितता गर्न खोजेको अडियो सार्वजनिक भएको थियो ।
करीब २ करोड रुपैँयाको मेसिन खरिद गर्ने भनिएपनि उक्त टेण्डरमा बिलो रकम बढी देखाएर कमिसन रकम माग गरिएको अडियो टेप सार्वजनिक भएको थियो ।
सो टेण्डरमा बिलो रकम बढाएर बनले ४० लाख रुपैँया बराबरको अनियमितता गर्न खोजेको अडियो टेप सार्वजनिक भएपछि संस्थाका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले यसअघि पनि पटक–पटक मौखिक रुपमा सचेत गराउँदै आएका थिए । तर, पछिल्ला केही गतिविधि पनि नसुध्रिएको भन्दै आँफूले लिखित सुझाव नै दिएको अधिकारीले बताए ।
‘संस्थामा व्यक्तिवाद हावी भयो राम्रो प्राविधिक राखिएन, कामधेनुको उत्पादन किन्न र खान छोडे अनि कामधेनुको कारोबार घट्यो,’ अधिकारीले टाकुरासँग भने, ‘कमिसन दिएर अनुदान लिने जस्ता आकाशे खेतीमा ध्यान दियो संस्थाको नेतृत्वले । जसले गर्दा संस्थाको मूल कारोबार ओझेलमा पर्न गयो ।’
संचालक र कर्मचारीमा आर्थिक अनुशासन कमजोर हुँदै गएकाले आँफूहरु चिन्तित भएको उनले सुनाए ।
मिल्क होलिडेका कारण सधैं भरी मारमा परेका किसानको हितका लागि प्रदेश नं. १ सरकारले पाउडर प्लान्टका लागि लगानी गर्ने निर्णय गरेको भएपनि घोषणा गरेको २ वर्षसम्म कामधेनुसम्म आइनपुगेको उनले बताए ।
Discussion about this post