सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम आजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएको छ । यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए ।
अनलाइन फारम भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि यातायात कार्यालय जानुपर्ने छ ।
यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो । आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए ।
यसरी भर्नुहोस् फारम
अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np मा जाने । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।
त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल ‘प्रोसिड‘ लेखिएको बटनमा क्लिक गर्नुहोस् । ‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ ।
त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ । त्यहाँ ओकेमा क्लिक गर्ने । र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ । यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।
Discussion about this post