आफ्नै प्रेमिकाको हत्या गरेको आरोपपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ का २६ वर्षीय पवन आङबुहाङ भनिने कुमुकहाङ लिम्बू आङबुहाङलाई पाँचथर प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । उनलाई बिशेष सूचनाको आधारमा प्रहरी सहायक निरिक्षक रघुनाथ राजवंशीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका मुलपानीबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका आङबुहाङमाथि १० असोज २०६७ मा आफ्नै प्रेमिका, पाँचथरको फिदिम नगरपालिका–६, सिवा बस्ने २४ वर्षीया सुष्मा तुम्रोकको गोली हानी हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार उनले सदरमुकाम फिदिमस्थित तुम्रोक होटल एण्ड लजको दोस्रो तलाको कोठामा सँगै बसेकी सुष्मालाई बिहान आठ बजे छातीको बाँया भागमा गोली प्रहार गरेका थिए । त्यतिबेला उनी १७ वर्षका थिए । गोली लागेकी उनको तत्काल मृत्यु भएको थियो ।
लामो समयपछि पक्राउ परेका आङबुहाङलाई शुक्रबार साँझ पाँचथर ल्याइपु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
घटनाको कारण प्रेम सम्बन्ध भएपनि हत्यासम्मै पुग्नुको रहस्य भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
Discussion about this post