इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले एकवर्षको अवधीमा २४ जनालाई पक्राउ गरेको जनाएको छ ।
आयोगमा परेको उजुरी र अनुसन्धानको आधारमा ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
अख्तियार इटहरीका प्रमुख प्रकाश पौडेलका अनुसार आर्थिक वर्ष २०७६।७७ मा २० वटा स्ट्रिङ अप्रेशनमा २४ जनालाई पक्राउ गरिएको हो ।
‘पक्राउ पर्नेमा अधिकृतस्तरका ४, सहायकस्तरका १७, जनप्रतिनिधि १ र अन्य दुईजना रहेका छन्,’ उनले भने, ‘१६६ उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो ।’
२०७६÷७७ मा प्रारम्भिकतर्फ ४४.३ प्रतिशत उजुरीको फस्र्यौट गरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी रंगेहात पक्राउ गरी विशेष अदालतमा २० वटा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अन्तर्गत इहटरी कार्यालयले बुझाएको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ताको रकम बैकिङ्ग प्रणालीमार्फत वितरण हुन नसकेका स्थानीय तहहरुमा सरकारी रकमको दुरुपयोग र हिमामिना हुनेसक्ने चुनौती देखिएको उल्लेख गरिएको छ ।
वार्षिक प्रगति प्रतिवेदनमा जनशक्ति र सुविधाको अभावमा भ्रष्टचार हुने ठहर कार्यालयले गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत, इटहरी कार्यालयको वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले यथार्थमा उभिएर अनुसन्धान गर्ने निकाय अख्तियार रहेको उदृत गरे ।
अख्तियार इटहरीले प्रदेश प्रमुख प्यासी समक्ष आठ खण्ड र ३१३ पृष्ठको ३० औं वार्षिक प्रगति प्रतिवेदन पेश गरेको थियो ।
Discussion about this post