इटहरी : बिहीबार नेकपा प्रचण्ड–माधब समूहले गरेको बन्दको प्रभाव देशैभर रह्यो । यसको असर सुनसरीको इटहरीमा पनि देखियो । तर, यहाँ कुनै पनि नकारात्मक घटना हुन पाएनन् ।
यसैबीच देश बन्द नरहेको दृश्य इटहरी चौक आसपासमा देखिन्थ्यो ।
एक बृद्धले जुत्ता सिलाउनका लागि ग्राहक पर्खिरहेको र नेपाल खुल्लै छ लेखेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ ।
इटहरी २० तरहरामा रहेको लिबरल सोसाइटीले ‘नेपाल खुल्लै छ, गरिखान देउ’ लेखेका प्ले कार्ड बोकेर बन्दको प्रतिकार गरेका थिए ।
मजदूरहरुले दैनिक ज्यालादारी गरेर जीवीकोपार्जन गर्दै आएपनि अहिले केही सीमित व्यक्तिहरुको स्वार्थका लागि नेपाल बन्द हुनु अशोभनीय रहेको लिबरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवानले बताए ।
उनले टाकुरासँग भने, ‘हामीले बन्द गर्न लागेका पसलहरु पनि खोल्नुपर्छ भनेर प्रोत्साहन गर्यौँ, युवाहरुले नकारात्मक कार्यको भत्र्सना गर्नैपर्छ रचनात्मक तरिकाबाट ।’
उनले संसद विघटन हुनु असंवैधानिक रहेपनि यसको रचनात्मक तरिकाले विरोध हुनुपर्ने र नेपाल बन्द गरिन अत्यन्त निन्दनीय रहेको बताए ।
‘कसैले बन्द भयो भनेर बोलेकै भरमा युवाहरु घरमै थन्किएर बस्नु हुँदैन,’ देवानले भने, ‘यसको सशक्त प्रतिकार गर्नका लागि पनि लिबरल सोसाइटीले आज नेपाल खुल्लै छ भन्ने सन्देश दिएको हो ।’
Discussion about this post