इटहरी (डेस्क) : पतिको मृत्यु भएको दुई महिना पनि भएको छैन । पति गुमाएको बज्रपात नमेटिदैँ आफ्नी छोरीको बलात्कारपछि हत्या हुँदा कुन आमाको मन नरोला ! यतिबेला बैतडीकी ४५ वर्षीय द्रोपती भट्ट ठूलो शोकमा छिन् । उनी मात्रै नभएर सिंगो गाउँ नै शोकमा डुबेको छ ।
दुई छोरीको विवाह भइसकेको र छोरा भारतमा मजदुरी गर्दै आएका भट्ट परिवारमा द्रोपतीको साथमा छोरी भागरथी मात्रै थिईन् । तर, उनको पनि मृत्यु भएपछि अहिले एक्लो घरसँग शोक मनाइरहेकी छिन् द्रोपती । एक्लो घर सँगै उनको दैनिकी बितिरहेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् ।
घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ ।
बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।
भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखेपछि उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे ।
गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले भने, ‘मान्छे मारेर फालेको खबर पाएपछि म पनि गएँ, भागरथीकै शव रहेछ ।’ उनको बीभत्स किसिमले हत्या गरिएको उनले बताए ।
प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टाउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिन्छ भने हातमा कोतरिएको छ ।
यौनाङ्गमा रगत बगेको समेत पाइएको भागरथीको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
यद्यपि, प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ ।
प्रहरीका अनुसार रिपोर्ट आउन केही दिन लाग्छ ।
Discussion about this post