इटहरी : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नियत खराब भएका कर्मचारीले गर्दा भ्रष्ट्राचार बृद्धि भइरहेको बताएका छन् ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको अवसरमा अख्तियार इटहरीको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्यासीले भने, ‘नियत खराब भएका कर्मचारीले गर्दा भ्रष्ट्राचार बढिरहेको छ, त्यसै कारणले गर्दा पनि हो समृद्धि नभएको, एक रुपैयाँ लिनु पनि भ्रष्ट्राचार नै हो ।’
उनले जिम्मेवारी लिनका लागि राजनैतिक ओहोदामा रस्साकस्सी गर्ने र जिम्मेवारी लिइसकेपछि जवाफदेही बन्न नसकिरहेको कुरा उदृत गर्दै भने, ‘जिम्मेवारी लिनका लागि रस्साकस्सी गर्नेहरु जवाफदेही नबन्दा टाउको दुखाइको विषय बनिरहेको छ, यहाँ नैतिकताको कुरा छ ।’
जसले अख्तियार दुरुपयोग गरेको छ, त्यसको बारेमा अनुसन्धान गर्ने आयोगका रुपमा चिनिने अख्तियारसँग कर्मचारीहरु डराएको उनले बताए । ‘अख्तियार भन्ने बित्तिकै कि बुझेको मानिस तर्सिन्छ, कि नबुझेको मानिस तर्सिन्छ,’ उनले भने, ‘मानिसहरू अनुसन्धान सँगै डराएको अवस्था छ ।’
तल्लो तहका कर्मचारीहरु भ्रष्टाचारमा केन्द्रीत रहने र ठूला कर्मचारीहरु सेटिङमा चल्ने उनको भनाइ थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख बाबुराम खतिवडाले प्रदेश र स्थानीय सरकारले विभिन्न कानुन निर्माण गरेपनि त्यसको कार्यान्वयन नभएको बताए ।
‘कानुन निर्माणमा छलफल भएको भए कार्यान्वयन गर्न सजिलो हुन्थ्यो, अहिले कार्यान्वयन फितलो देखिन्छ,’ उनले भने, ‘अहिलेसम्म सबैभन्दा बढी स्थानीय तहको भ्रष्ट्राचार सम्बन्धि उजुरी परेको छ, हामीलाई अनुसन्धान गर्नका लागि पनि कानुनले खुट्टा बाँधेको छ ।’
उनले आयोगप्रति जनताको विश्वास भएकाले उजुरी परेका निवेदनहरुबारे आफूहरु निष्पक्ष रुपमा छानिबन र अनुसन्धान गरिरहेको बताए । ‘शक्ति र अधिकार सबैभन्दा बढी जहाँ छ, त्यहाँ धेरै भ्रष्ट्राचार हुन्छ,’ उनले भने, ‘सबै भ्रष्ट्राचार गर्ने व्यक्तिहरु अहिले पनि कानुनी दायरामा आउन सकिरहेका छैनन्, भ्रष्ट्राचारलाई शून्यमा झार्न मुश्किल पर्छ ।’
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले एकवर्षको अवधिमा २४ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७६।७७ मा २० वटा स्ट्रिङ अप्रेशनमा २४ जनालाई पक्राउ गरिएको उनले बताए ।
‘पक्राउ पर्नेमा अधिकृतस्तरका ४, सहायकस्तरका १७, जनप्रतिनिधि १ र अन्य दुईजना रहेका छन्,’ उनले भने, ‘१६६ उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो ।’ यसैगरी रंगेहात पक्राउ गरी विशेष अदालतमा २० वटा मुद्दा दायर गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा सम्बोधन गर्दै प्रदेश १ का सभामुख प्रदीप भण्डारीले भ्रष्ट्राचार गर्नु अपराध रहेको बताए । उनले भने, ‘ जहाँ सुशासन हुन्छ त्यहाँ भ्रष्टाचार हुँदैन, जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ सुशासन हुँदैन । भ्रष्टाचार अपराध हो, बिकृती हो ।’ उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउँदै कर्मचारीहरुलाई पारदर्शी र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अख्तियार स्वतन्त्र, न्यायिक र पारदर्शी हुनुपर्ने बताए । ‘हरेक मानिसले कर्तव्य र जिम्मेवारीलाई इमानदारी पूर्वक बहन गर्नुपर्छ,’ उनले भने, ‘सुशासन नै समृद्धिको आधार रहेकाले इमान्दार भएर काम गर्न आवश्यक छ ।’ उनले अख्तियार राजनीतिक भागबन्डा भन्दा माथि उठ्नुपर्ने तर्क गरे ।
‘जबसम्म अख्तियार आयोग राजनीतिक भागबन्डा भन्दा अलग रहन सक्दैन तबसम्म सहि रुपमा काम गर्न सक्दैन ।’ उनले भने । उनले हरेक क्षेत्रमा राजनीतिक ढंगबाट हेरिदाँ भ्रष्ट्राचारको संख्या बढिरहेको बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनप्रतिनिधिहरु नै अलमलिइरहेको बताए । ‘अधिकारको बाँडफाँड वडामा गरेपनि काम नहुने गरेका उदाहरण छन्,’ पोखरेलले भने, ‘पाँच बजेसम्म बस्नुपर्ने कर्मचारी दुई बजे नै हिड्छन्, अधिकार मात्रै बाढ्यौँ निगरानी गरिएन ।’
उनले अहिले प्रत्येक स्थानीय तहमा अधिकारको बाँडफाँड गरेपनि निगरानी नभएका कारण सर्वसाधारण मानिसहरु पीडित बन्नुपरेको उदृत गरे ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कर्मचारीहरु अख्तियार देखि डराउनु परेको बताए । ‘अख्तियार भन्ने बित्तिकै कर्मचारी डराउने गरेका छन्, यो किन हुन्छ ? आवश्यक अनुसन्धान हुन जरुरी छ,’ उनले भने, ‘काम गर्ने वातावरण नभएकाले यसमा अख्तियारले सहजीकरण गरिदिनुपर्ने स्थिति रहेको छ ।’
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव दिनेश भट्टराई, जिसस सुनसरी उपप्रमुख कृष्णकुमारी विश्वकर्मा लगायतले सम्बोधन गर्दै स्थानीय तहले थुप्रै ऐन कानुन बनाएपनि पालना नभइराखेको बताएका थिए ।
Discussion about this post