इटहरी : इटहरीका एक व्यक्ति ठगी गरेर फरार भएका छन् । इटहरी २ हवाई चौक नजिकै फर्निचर सञ्चालन गर्दै आएका एक व्यक्तिले नगद रकम सहित अन्य सामान समेत ठगी गरेर फरार भएका हुन् ।
इटहरीका कृष्णप्रसाद रेग्मी, अनिता बराल, रत्नमान तामाङ, खेम रेग्मी लगायत दर्जन बढी मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने सप्तरी घर भएका रामकुमार यादवले ठगी गरेर फरार भएका हुन् ।
३२ वर्षीय यादवले फर्निचरका सामान बनाउने भन्दै नगद रकम र काठका सामान ठगेर फरार भएको भनी ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको छ ।
माघ १८ गते उनीबिरुद्ध ठगी सम्बन्धी उजुरी दर्ता भएपनि खोजी गर्नका लागि इटहरी प्रहरीले आनाकानी गरेको पीडितको आरोप छ ।
‘घरमा चौकस, पल्ला बनाउनका लागि दिएको काठ बेचेर फरार भएका छन्,’ पीडितमध्येका कृष्णप्रसाद रेग्मीले भने, ‘फर्निसिङका लागि बनाउन चाहिने नगद रकम समेत लिएर फरार भएको र हामीले उजुरी गरेपनि खोजी भएको छैन ।’
यादवले विभिन्न पटक गरी रेग्मीसँग नगद तीन लाख रुपैँया लिएका थिए । तर, उनीसँग रकम लिएपछि यादवले फर्निसिङका सामान नबनाई नगद रकम लिएर फरार भएको उनले बताए ।
इटहरी २ कै अनिता बरालसँग एक लाख चालीस हजार, इटहरी २ कै रत्नमान तामाङसँग पन्ध्र हजार र मोरङ बेलबारी २ का खेम रेग्मीसँग बीस हजार ठगी गरेको प्रहरीमा उजुरी परेको छ । इटहरी प्रहरीले उजुरी दर्ता गरेपनि खोजी गर्नका लागि आनाकानी गरेको पीडितको आरोप छ ।
‘प्रहरीमा उजुरी दर्ता भइसकेपनि खोजी गर्न ढिलासुस्ती भयो,’ उनले टाकुरासँग भने, ‘हामीले बारम्बार प्रहरी गुहार्दा पनि वास्ता नै गरिदैँन, पीडकलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको लागि माग गर्दछौँ ।’
प्रहरीकहाँ ठगी गरी फरार रहेकाले खोजी गरी आवश्यक कारबाही गरी पाउँ भनी चारजनाको निवदेन परेको छ ।
पीडक यादवले यसअघि पनि अन्य मानिसलाई विभिन्न प्रलोभन देखाएर फर्निचरका सामानमा ठगी गर्ने गरेको पीडितको दाबी छ । यादवले करीब एक वर्ष अगाडि इटहरी २ को हवाई चौक क्षेत्रमा फर्निचर बनाउने भनी पसल खोलेपनि अहिले बस्दै आएको कोठा समेत छाडेर फरार रहेका छन् ।
यस विषयमा ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले भने आर्थिक लेनदेनको विषय प्रहरीले नहेर्ने प्रतिक्रिया दिए ।
‘त्यो बिशुद्ध लेनदेनको कुरा हो, आर्थिक लेनदेनको विषय प्रहरीले हेर्दैन,’ उनले टाकुरासँग भने, ‘हामीले दुवै पक्षलाई बोलाएर छलफल गराइदिने हो, अहिले त्यो मानिस यो एरियामै छैन ।’ उनले न्यायिक समितिमा जानुपर्ने उजुरी प्रहरीकहाँ आएको बताए । यद्यपि, आफूहरुले खोजी कार्य गरिरहेकोले पत्ता लागेमा उपस्थित गराई दुवै पक्षबीच छलफल गराइने केसीले बताए ।
Discussion about this post