इटहरी : इटहरीमा प्रहरी र होटल व्यवसायीबीच घम्साघम्सी भएको छ । भ्यालेन्टाइनको रात करीब ९ बजे इटहरीको कुश होटलमा प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको हो ।
ईलाका प्रहरी कार्यालय इटहरीबाट आएका केही प्रहरीहरुले लात्तीले, हातले धेरैपटक कुटपिट गरेको दृश्य देखिन्छ । प्रहरीले लात्तैलात्ताले धेरैपटक कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।
उक्त दृश्य इटहरीको कुश होटल नजिकैको हो । कुश होटलमा धेरै भीडभाड बढेपछि प्रहरीलाई सुरक्षाका लागि बोलाइएपनि व्यक्तिगत ऋषिबिका कारण हातपातको स्थिति सृजना भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
कुश होटलका सञ्चालक सुसन अधिकारी र होटलमा आएका स्थानीय विजय लिम्बूलाई प्रहरीले पक्राउ समेत गरेको छ । यद्यपि, उनीहरुलाई प्रहरीले आजै छाडेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले व्यक्तिगत ऋषिबिका कारण हातपात गरेको थियो ।
होटल व्यवासायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार उक्त कुश होटलमा भीड भएर प्रहरीलाई सुरक्षाका लागि बोलाएपनि प्रहरीहरुले व्यवसायीलाई हातपात गरेका थिए ।
‘हिजो सबै होटलहरुमा भीड थियो, कन्ट्रोल हुन नसकेकाले प्रहरीलाई सुरक्षाका लागि बोलाइएपनि मुठभेडको स्थिति सृजना भयो,’ पराजुलीले टाकुरासँग भने, ‘दुवै पक्षको कुरा सुन्दा कसको गल्ती भएको भन्ने नै अन्यौल छ, प्रहरीका अनुसार व्यवसायीले सुरुमा हात छोडेको भन्ने कुरा छ ।’
व्यवसायीले सुरुमा प्रहरीमाथि हातपात सुरु गरेको प्रहरीले जनाएपनि सीसी टिभी फुटेज नभएकाले अन्यौलको स्थिति रहेको उनले बताए । उनले भने, ‘पुलिसलाई त व्यवसायीले कहाँ कुट्छ र ? फुटेज नभएका कारण अलिकति अन्यौल रह्यो ।’ उनले सुरक्षाको लागि प्रहरी बोलाउँदा दुवै पक्षबीच मुठभेडको स्थिति हुनुले नकारात्मक सन्देश गएको तर्क गरे ।
सुरक्षाका लागि बोलाइएका प्रहरीबाटै कुटपिट हुनु दुःखद् रहेको उनले बताए ।
यता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले भने होटलमा भीड भएकाले प्रहरीले क्लियर गर्ने क्रममा केही हातपात भएको प्रतिक्रिया दिए ।
‘भीडभाड भयो भनेर प्रहरी बोलाइएको थियो,’ केसीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘प्रहरीले क्लियर गर्ने क्रममा केही हानाहान भएको कुरा छ ।’ उनले ठूलो घटना केही नभएको भन्दै पक्राउ गरिएका दुईजनालाई मिलाएर छाडिसकिएको बताए ।
भिडियो
Discussion about this post