इटहरी : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चिलले चल्ला लग्यो भन्दै खोरमा कुखुरा खोज्ने काम गरेको अभिव्यक्ति दिएका छन् ।
नेपाल प्रेस युनियन सुनसरीले आइतबार इटहरीमा राखेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘चिलले चल्ला लग्यो भन्दै आकाशमा हेर्न लगाउने र खोरमा कुखुरा खोज्ने काम प्रधानमन्त्रीबाट भएको छ, संसद पुनस्र्थापना हुनेभएपछि ओली अत्तालिएका छन् ।’
पुष ५ गते प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरुद्धमा कांग्रेस स्पष्ट रहेको उल्लेख गर्दै उनले भने, ‘असंवैधानिकको बिरुद्ध कांग्रेस स्पष्ट छ, कांग्रेसको लाइन भनेको संसद पुनस्र्थापना हुनुपर्छ भन्ने हो, यसमा दुईमत छैन ।’
पार्टी सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आशय व्यक्त गरेको सम्झदैँ उनले भने, ‘पैसा छैन आन्दोलन हुँदैन भन्नु गलत हो, असंवैधानिक विरुद्ध पार्टीले नेतृत्व गर्ने हो, पैसाले होइन ।’
कुनै पनि हालतमा संसद पुनस्र्थापना हुने भएकाले सत्ताधारी नेताहरु अत्तालिएको उनको भनाइ थियो ।
’प्रधानमन्त्रीले अदालतलाई धम्क्याउने कुराप्रति घोर आपत्ति छ,’ उनले भने, ‘ओली अधिनायकबादतर्फ उन्मुख भएका छन्, कांग्रेसले यसमा प्रतिवाद गर्न आवश्यक छ ।’
संसद पुनस्र्थापना हुनु भनेको लोकतन्त्रको रक्षा हुने उनको तर्क गरे ।
‘म संसदमा छैन, संसद पुनस्र्थापना हुनुपर्छ भन्न मेरो के स्वार्थ छ र ?’ उनले प्रश्न गर्दै भने, ‘संविधानको रक्षाका लागि कांग्रेसले आवाज उठाइरहेको छ र अदालतबाट उचित निर्णय नभएसम्म आवाज उठाइरहनुपर्छ ।’
कार्यक्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले अहिले कांग्रेसको धारणा अन्यौलमा रहेको बताउँदै नेता पौडेल पूर्व आएको अवसर पारेर उक्त साक्षात्कार कार्यक्रम आयोजना गरेको बताए ।
Discussion about this post