इटहरी : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने आइतबारको संसद् बैठक रोक्न कांग्रेस सभापति शेरबहादुर देउवाको दबाब आएको भनी केही सञ्चार माध्यममा आएको समाचारप्रति प्रदेश नं १ काँग्रेस संसदीय दलले आपत्ति जनाएको छ।
संसदीय दलका नेता राजीव कोइरालाले केही सञ्चारमाध्यमले अनाश्यक भ्रम सिर्जना गर्नका लागि समाचार प्रकाशन, प्रसारण गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसमा सत्यता नभएको बताएका छन् । उनले अविश्वास प्रस्ताव पेस भएपछि त्यसलाईं टेवल गरि टुंगो लगाउनुपर्नेमा शुरुवातदेखि नै काँग्रेसको अडान रहदै आएको प्रस्ट्याए ।
‘केही समयअघिदेखि सत्तापक्षीय नै संसद अबरोध गरेर बसेका थिए । यस्तो इतिहासमा कहीँ हुँदैन,’ कोइरालाले भने, ‘अब अविश्वासको प्रस्ताव टेवल भएको छ । यो प्रदेशले गति लिनेछ ।’
उनले प्रदेशसभामा अब कुन समूहसँग मिलेर अघि बढ्ने भनेर केन्द्रले सही टुंगो लगाउनुपर्ने बताए । ‘यदि केन्द्रले सही टुंगो नलगाएमा प्रदेशलाई आफैँ निर्णय गर्ने अधिकार दिनुपर्छ,’ उनले भने, ‘प्रदेशले सुझबुझका साथ निर्णय लिन्छ ।’
Discussion about this post