इटहरी । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीले यहाँ हर्न निषेधित क्षेत्रलाई निरन्तरता दिएको छ । सोमबार इटहरी लगायत प्रदेश १ का विभिन्न ठाउँमा ट्राफिक प्रहरीले सवारी चालकहरुलाई एक मिनेट रोकेर नमस्कार गर्दै हर्न नबजाउनका लागि अपिल गरेका थिए ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार ट्राफिकले रचनात्मक काम गर्नका निम्ति चालकलाई नमस्कार गरेर हर्न नबजाइदिन अपिल गरेको हो । अन्य समयमा पटक–पटक ट्राफिकले दुःख दिने गरेको गुनासो बोकेर कार्यालय आउनुपर्ने र सवारी चालक ट्राफिकबाटै पीडित बन्नुपरेको उदाहरण सम्झदैँ एसपी शर्माले भने, ‘चालक अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात माग्नका लागि ट्राफिकले चेकिङ गर्ने भएपनि हामीले यो फरक अभ्यास गरेका हौँ, ट्राफिकबाट कोही पनि पीडित बन्न नपरोस् भन्ने अभ्यास पनि हो ।’ जसअन्तर्गत बस, ट्रक, ट्याक्टर, तथा अन्य सवारी साधनलाई रोकेर हर्न नबजाउन अपिल गरिएको हो ।
प्रदेश १ का १४ वटै जिल्लाका मुख्य पोइन्टहरुमा ट्राफिकले सोमबार एक मिनेट रोकेर चालकलाई हर्न नबजाइदिनका लागि हात जोड्दै अपिल गरेको उनले बताए । ‘इटहरी, धरान, विराटनगर, दमक लगायतका ठाउँमा हामीले चालकलाई हर्न नबजाउनका लागि अपिल गरेका छौँ,’ उनले भने, ‘मंगलबारबाट प्रदेश १ मा नो पार्किङ लेखिएका स्थानमा पार्किङ गर्ने सवारी साधनलाई ह्विल लक गर्ने योजना समेत बनाएका छौँ ।’ उनले मंगलबारबाट इटहरी, धरान, विराटनगर तथा दमक क्षेत्रमा नो पार्किङ लेखिएका स्थानमा पार्किङ गरेमा सवारी साधन ह्विल लक गर्ने समेत बताए ।
एसपी शर्माका अनुसार हर्न निषेधित क्षेत्र भएपछि दुर्घटना न्यूनीकरणमा पनि सघाउ पुग्नेछ । ‘हर्न बजाउन नपाएपछि गाडी स्लो चलाउनुपर्छ, गाडी स्लो चलाउँदा दुर्घटना पनि कम हुन्छ ।’ उनले भने ।
२०७४ असोज १ गतेदेखि नै प्रदेश १ लाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । तर, त्यसविरुद्ध अदालतमा उजुरी परेपछि केही समय स्थगित भएको थियो । तर, उच्च अदालत विराटनगरले २०७५ जेठ १४ गतेको निर्णयले उजुरी खारेज गरेपछि ट्राफिक प्रहरीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
Discussion about this post