इटहरी : सुरुमा टिकटकमा सामान्य कुराकानी हुन्छ । विस्तारै दुवैजना नजिकिन्छन् र कुराकानीलाई तीब्रता दिन्छन् । कास्कीका राजीब गुरुङ र धनकुटाकी युवतीबीचको कुराकानी अन्त्यमा विवाह गर्नेसम्म पुग्छ । र, उनीहरुको सुनसरीको इटहरीमा माघ २५ गते भेट हुन्छ ।
भेटसँगै यहाँ रहेको आरआर होटलमा उनीहरु २७ गतेसम्म बस्छन् । सोही दिन ती युवतीलाई गुरुङले आफ्नो संस्कारअनुसार विवाह गर्दा माइती पक्षबाट लगाएको गरगहना चोख्याउनुपर्ने भन्दै सबै गरगहना खोल्न लगाउँछन् । र, ती युवती नुहाउनका लागि बाथरुममा पस्छिन् । त्यही समयमा गुरुङले भएका गरगहना, एटिएम कार्ड लगायतका सामान लिएर फरार हुन्छन् ।
शुक्रबार ईलाका प्रहरी कार्यालय इटहरीले सामाजिक सञ्जाल टिकटकको दुरुपयोग गरी ठगी गर्ने गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेपछि बाहिरिएको कथा हो यो ।
इटहरी प्रहरीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार कास्की जिल्ला, कास्कीकोट गाउँपालिका ४ का ३५ वर्षीय राजीब गुरुङले टिकटकको प्रयोग गरी धनकुटाकी अन्दाजी २४ वर्षीय महिलालाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
‘धनकुटा घर भएकी एक युवतीलाई टिकटकबाट कुराकानी गरेर विवाह गर्छु भनी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ डीएसपी केसीले भने, ‘एक महिनाको अवधिमा दुवैजना विवाह गर्न राजी हुन्छन् र इटहरीमा भेट हुन्छ, यहाँ केही दिन बिताएपछि युवतीले लगाएको गरगहना लिएर फरार हुन्छन् ।’
प्रहरीका अनुसार उनले गुरुङ संस्कार अनुसार माइती पक्षले दिएको गरगहना चोख्याएर मात्रै भित्राउनुपर्ने भएको भन्दै सबै गरगहना खोल्न लगाएर नुहाउन पठाउने बहानामा ठगी गरेको खुलेको छ ।
विवाह गर्ने प्रलोभन देखाएर ठगी तथा जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार ती युवतीको साथबाट चार आनाको झुम्का, १० आनाको सुनको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, नगद २७ हजार पाँच सय तथा एटिएम कार्ड लिएर होटलबाट गुरुङ फरार भएका थिए ।
यसरी पक्राउ परे गुरुङ
प्रहरीका अनुसार उनले झापाकी एक महिलालाई पनि सोही प्रकृतिबाट ठगी गर्न लागेको सूचनाको आधारमा फागुन १२ गते इटहरी १३ खनारबाट फोटोको पहिचान गरी उनलाई पक्राउ गरेको थियो ।
‘फोटोको पहिचान गरी खानतलासी गर्ने क्रममा खनार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो,’ डीएसपी केसीले भने, ‘जबरजस्ती करणी मुद्धामा सातदिनको म्याद थप गरी अझै अनुसन्धान गरिरहेका छौँ ।’
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका काण ठगीका घटना बढेकाले सचेत बन्न समेत प्रहरीको अपिल छ ।
Discussion about this post