इटहरी : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जनताको समस्या समाधान गर्न सरकार साथमा रहेको बताएका छन् ।
इटहरी २ मा सञ्चालित इपिल्याण्ड एण्ड वाटरपार्कको सोमबार उद्घाटन गर्दै मन्त्री ढकालले भने, ‘जनताको समस्या समाधान गर्न सरकार साथमा रहेको छ, राम्रो काम गर्नेका लागि सरकारको सधैँ साथ सहयोग छ ।’
निजी क्षेत्रको करीब ३० करोड लागतमा निर्माण भएको फनपार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले राम्रो उदेश्यका साथ समाजलाई अग्रणी बनाउन निर्माण भएको उक्त फनपार्कले यस क्षेत्रमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।
‘पूर्वान्चल पर्यटनको गतिमा अग्रगतिमा दौडनुपर्ने भएपनि पर्यटनको काम भएको छैन,’ उनले भने, ‘न हाम्रो क्षेत्रमा पर्यटनको विकास भयो, न ठूला होटलहरु नै स्थापना गर्न सकियो !’ उनले प्रदेश १ मा पर्यटनको सम्भाव्यता धेरै भएपनि पर्यटकीय क्षेत्रमा विकासका काम आरम्भ नभएको तर्क गरे ।
‘यहाँ समय र सम्भाव्यता भएपनि विकासको आरम्भ भएको पाईदैँन तर इटहरी जस्तो ठाउँमा यो फनपार्ककको स्थापना हुनु सुखद् हो,’ मन्त्री ढकालले भने, ‘भविष्यमा अरुलाई पनि काम गर्न उत्प्रेरित गर्ने र यसलाई निरन्तरता दिनु आवश्यक छ ।’
उनले पर्यटनको क्षेत्रमा लगानी गर्न सरकार तयार रहेकाले पर्यटनको अवलोकन गर्न आवश्यक रहेको बताए । निजी क्षेत्रलाई सरकारले नीतिगत सुझाव दिदैँ यस क्षेत्रको विकासमा आफूहरु गम्भीर रहेको उनको भनाई थियो ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरी क्षेत्रमा उक्त पार्क निर्माण हुनु सुखद् रहेको बताए ‘यो पार्कको सन्चालनले आर्थिक विकास र समृद्धिको लागि महत्वपूर्ण छ,’ उनले भने, ‘सबै हिसाबले यस क्षेत्रका लागि सुखद छ ।’
इपिल्यान्ड फनपार्कका सन्चालक ज्ञानबिक्रम शाहले चारजनाको संयुक्त लगानीमा उक्त फनपार्क सञ्चालनमा आएको बताए । उनले भने, ‘स्थानीय मानिसलाई रोजगारीको अवसर सृजना गर्न र भारतीय पर्यटक भित्राउने लक्ष्यका साथ यो फनपार्कको शुभारम्भ गरिएको हो ।’
कम्पनीका अध्यक्ष भीम बहादुर पौडेलले एक वर्ष अगाडि नै फनपार्क सञ्चालनमा आउने भएपनि कोरोना महामारीका कारण एक वर्ष धकेलिएको बताए ।
उनका अनुसार पार्कमा पूर्वको सबैभन्दा ठूलो वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय मानिस अटाउने वेभ पुल, जीप लाइन, बोटिङ गर्दै लोप भइसकेका जनावरको इलेक्ट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको छ ।
पार्कमा एकैपटक ६ हजार बढी पर्यटकले अवलोकन तथा अनुभव गर्न सकिने पौडेलले बताए ।
Discussion about this post