इटहरी : इटहरी ४ बुढीखोलाको पूर्वी किनारमा घाट बन्ने निश्चित भएको छ ।
सुन्दरहरैँचा ५ मा पर्ने उक्त किनारमा घाट बनाउनका निम्ति उच्च अदालत विराटनगरले आदेश दिएसँगै यहाँ घाट बन्ने निश्चित भएको हो ।
यसअघि निर्माण कार्य भइरहेको समयमा वातावरण र बुढीखोला पुललाई असर गर्ने कारण देखाउँदै कानुनविद् सुमनचन्द्र कार्की लगायतले उच्च अदालत विराटानगरमा रिट दायर गरेका थिए ।
तत्कालिन समयमा अदालतले अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्का गर्नु भनेर अन्तरिम आदेश दिएको बृहत्तर मुक्तिधाम क्षेत्र विकास समिति तथा बुढीगंगा जमुना मुक्तिघाट पूर्वी खण्ड निर्माण समितिका अध्यक्ष हेम घिमिरेले बताए ।
उनका अनुसार उच्च अदातले गत माघ १९ गते काम अगाडि बढाउन आदेश दिएको छ । मुक्तिघाटको पूर्वी खण्ड निर्माणको बाटो खुलेपछि सुन्दरहरैँचा नगरपालिकाको सहयोगमा घाट निर्माणको काम अगाडि बढाइएको घिमिरेले बताए ।
उनका अनुसार इटहरीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको ४२ औँ वार्षिक उत्सवको अवसर पारेर आगामी वैशाख ८ गतेदेखि १४ गतेसम्म श्रीमदभागवत समेत आयोजना गर्ने तयारी थालिएको छ ।
भागवत कथाकार विदुषी तारा घिमिरेबाट श्रीमद्भागवत कथा र संस्थाका संरक्षक गुरुजी श्री १०८ मोहनप्रियाचार्यजी महाराजबाट बाणी चर्चा हुने उनले बताए ।
‘अनुमानित दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको घाटमा नगरपालिकाको सहयोगले मात्रै काम पूर्ण नहुने भएकाले भागवत आयोजनाको तयारी थालेका हौँ,’ घिमिरेले भने, ‘काम सम्पन्न गर्नका लागि केही रकम सहयोग जुटोस् भन्ने उदेश्यले भागवत पाठ गर्न लागिएको हो ।’
Discussion about this post