इटहरी : प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक चैत २३ गतेका लागि बोलाएका छन् । यसअघि पटक–पटक सूचना टाँसेर स्थगित गरिँदै आएको प्रदेशसभा बैठक चैत २३ गते दिउँसो २ बजेका लागि बोलाइएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव उक्त बैठकमा टुंगो लगाइने भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भइसकेको छ । अब उक्त प्रस्ताव प्रक्रियागत रुपमा विफल बनाउने राईको योजना छ ।
चैत १२ गते तत्कालीन नेकपा दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वास प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत भएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना प्रदेशसभा सदस्य छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये ७ जना प्रदेशसभा सदस्य टंक आङ्बुहाङ, उषाकला राई, कला घले, बसन्तीदेवी यादव, श्रीप्रसाद मैनाली, जसमाया गजमेर र गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर लिखित रुपमा फिर्ता लिइसकेका छन् ।
मओवादी केन्द्रका नेता, प्रदेशसभा सदस्य एवं पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार संसदीय दलको बैठक बसेर अविश्वास प्रस्ताव, सरकारलाई गरेको समर्थन, दलको नेता चयनको विषयमा निर्णय गर्ने बताए ।
Discussion about this post