तरहरा : पछिल्लो समय इटहरीमा ठगी गर्नेको संख्या बृद्धि भइरहेको छ । विभिन्न बहानामा ठगी गर्ने मानिस सक्रिय भएका छन् । प्रहरीले निगरानी नबढाउँदा र पीडित स्वयम्ले पनि घटनाबारे सार्वजनिक नगर्दा ठगी गर्ने मानिस सक्रिय भएका हुन् । अझ पछिल्लो समय त ठगी गर्ने मानिसले नयाँ स्टाइल प्रयोग गरेर रकम झ्वाम पार्ने गरेका रहस्य पनि बाहिरिन थालेका छन् ।
यस्तै घटना भएको छ – इटहरी २० तरहरामा ।
यहाँका कुमार प्रधान स्थानीय मानिससँग परिचित नै थिए । तरहराको होम्स लाइनमा फलामको काम गर्ने (ग्रील) पसल सञ्चालन गर्दै आएका उनले विभिन्न व्यक्तिको रकम ठगी गरेर फरार भएपछि अहिले हंगामा हुन थालेको छ ।
त्यसो त तरहरामा २०७४ सालमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छापा मारेपछि विभिन्न बहानामा ठगी गरेका अनुहारहरु एकपटक चिनिएका थिए । कसैले सुन पसलको नाममा त कसैले आइएमी सञ्चालन गरेर अवैध रुपमा मिटरब्याजको कारोबार गर्दै आएका मानिसहरुको कतुर्त बाहिरिएको थियो ।
सिआइबीको छापासँगै ठगी गर्नेको सञ्जाल छताछुल्ल भएको अवस्था थियो । सिआइबीको छापाले एकपटक तरहराको बजार तहसनहस समेत भएको थियो ।
यसैबीच अन्दाजी ४० वर्षीय कुमार प्रधानले तरहरामा रहेको उनकी श्रीमती ३८ वर्षीया गीता प्रधानको नाममा रहेको घर बेच्न तयार भए । सनराइज बैँक रामधुनी शाखाबाट निकालेको ६५ लाख रुपैँया ऋण तिर्न नसक्दा घर लिलाम हुने अवस्थामा पुगेपछि उनले घर बेच्ने निश्चित भयो । यहाँका खेम अधिकारीले घर खरीद गर्ने निश्चित भएपछि उनले ऋण बापतको रकम बैँकमा जम्मा गरे । तर, रकम जम्मा गरेको केहीसमयमै घर पास नगरी कुमार र उनका परिवार फरार भएका छन् ।
‘बैँकले घर लिलाम गर्न लाग्यो किनिदिनु भनेर बारम्बार भनेकाले बैँकमा पैसा जम्मा गरे,’ अधिकारीले टाकुरान्यूजसँग आफ्नो समस्या राख्दै भने, ‘सनराइज बैँकमा लोन रहेछ, विभिन्न पटक गरी ६५ लाख रुपैँया तिरेँ, पछि बुझ्दा त्यो रकम झिकेर फरार भएका रहेछन् ।’ अधिकारीका अनुसार घर पास नगरीकन उक्त ६५ लाख रुपैँया बैँकबाट झिकेर प्रधान परिवार फरार भएका छन् ।
दुई छोरी, एक छोरा र श्रीमतीसहित प्रधान तरहरा छाडेर हिडेको तीन महिना बितिसक्यो ।
‘घर किनिदिनु भनेर ०७६ सालदेखि नै बारम्बार भनेको हो,’ अधिकारीले भने, ‘असोज १५ गते दश लाख बैना गरेको थिएँ, त्यसपछि विभिन्न पटक गरी रकम बुझाइसकेँ ।’ उनले त्यसपछि २७ कात्तिक ०७६ मा ५१ लाख रुपैँया जम्मा गरे । त्यस्तै, ३ असार ०७७ मा तीन लाख र लगत्तै एक लाख गरी जम्मा ६५ लाख रुपैँया कुमार ग्रील उद्योगको नाममा रहेको सनराइज बैँकको खाता नम्बर ०३०४१९०३३७०१००१ मा जम्मा गरेका थिए । तर, रकम जम्मा गरेको केही महिनापछि घर पास नगरी प्रधान परिवार फरार भएका छन् ।
उनीहरुले ग्राण्ड डिजाइन नै तयार गरेर ठगी गरेको पीडितको भनाइ छ ।
अधिकारीले ठगी मुद्धामा गत फागुन २३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता समेत गरेका छन् । ६५ लाख रुपैँयामा खरीद गर्न लागेको घर अहिले उक्त रकमबापतको साँवाब्याज नै बैँकलाई बुझाउनुपर्ने अवस्था आएपछि आँफू पीडामा रहेको अधिकारी सुनाउँछन् ।
‘अरु ६५ लाख र त्यसको ब्याज समेत तिर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘पहिला तिरेको रकम लिएर फरार भएपछि अहिले मानसिक समस्यामा गइसकेँ ।’ प्रधानले घर पास नगरीकन बैँकमा भएको उक्त रकम झिकेर फट्याईँ गरेकाले ठगी मुद्धामा उजुरी दर्ता गरेपनि प्रहरीले चासो नदिएको पीडितको भनाइ छ ।
यता, सनराइज बैँक रामधुनी शाखाका व्यवस्थापक द्रोण घिमिरेले भने कसले कतिखेर बैँकमा रकम जम्मा गर्ने र झिक्ने भन्ने विषयमा आफूलाई थाहा नहुने प्रतिक्रिया दिए ।
उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘प्रधानको खातामा राखेको पैसा झिकेर लगेको हो, कसले कतिखेर पैसा झिक्छ, हामीलाई के थाहा हुन्छ र ?’ उनले दुईजनाबीच सम्झौता भएको होला भन्ने भएर आँफूले पनि पैसाको सन्र्दभमा कुनै चासो नदिएको बताए ।
Discussion about this post