इटहरी : सुनसरी प्रहरीले सवारी दुर्घटनामा नक्कली चालक खडा गरी सक्कली चालक भगाउने २ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका नेत्रप्रसाद पाठक रहेका छन् । पक्राउ परेका दुवै जना कोशी यातायात प्रालि इटहरीका संचालक समितिका सदस्य हुन् ।
गत चैत १२ गते सुनसरीको तीनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको घटनामा नक्कली चालक खडा गरेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालक इलामको इलाम नगरपालिका–८ तिल्केनीका मेख बहादुर राई गम्भीर घाइते भएका थिए । गम्भीर घाइते राईको उपचारकै क्रममा विराट नर्सिङ होममा चैत १३ गते मृत्यु भएको थियो ।
दुर्घटनापश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रालि इटहरीका संचालक समितिका सदस्यद्वय जीवन र नेत्र प्रसादले सिरहा लाहान– ८ घर भइ विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनी उपस्थित गराएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनीमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र आफूलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुट्करा समेत दिलाइ दिने भनी आर्थिक प्रलोभनमा पारेर उपस्थित गराएको बयान दिएका थिए ।
पीडितपक्षलाई क्रियाखर्च क्षतिपूर्ति दिलाउनुपर्ने संस्थाको जिम्मेवार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि वास्तविक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post