विराटनगर : छोरासँगको झगडामा बाँसको भाटामा उनिएर घाइते भएका विराटनगरका एक पुरुषको शनिबार राति मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ बलुवाईका ५४ वर्षीय विको सहनी मुखियाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियासँग झगडा हुँदा घाइते भएका विकोको उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको हो ।
बाबुको हत्यामा संलग्न रवि फरार रहेका कारण खोजी तीव्र पारिएको राईले बताए ।
विकोका तीन छोरा र एक श्रीमती छन् । राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेर पसल बन्द गर्न आग्रह गरेका माइलो छोरा रविको त्यही विषयलाई लिएर बाबुसँग विवाद भएको स्थानीयको भनाइ छ ।
विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ । धकेल्दा घरको बेरा लगाएको बाँसको भाटामा विको उनिन पुगेका थिए । उनको घाँटीमा भाटाले छेडेको चोट छ । घाँटीमा लागेको गम्भीर चोटका कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
पसल खुला राखेको विषयमा बाबु र छोराबीच भएको झगडामा बाबुले ज्यान गएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post