विराटनगर । विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ ।
सहिद रंगशाला विराटनगरमा शनिबार राती सम्पन्न छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कब्जा गर्ने क्रममा उसले पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–० गोल अन्तरले स्तब्ध बनायो। निर्णायक गोल गरेका प्रदीप लामाको भूमिका एपीएफको जितका लागि निकै महत्वपूर्ण बन्यो।
११ औँ मिनेटभित्रै बललाई फ्रेमभित्र प्रवेश गराउन सफल भएका उनले टिमलाई उपाधि उचाल्न सहज पारिदिए। गोलरक्षक सतवीर सिंहलाई विट गर्दै प्रदीपले बललाई पोस्टभित्र पुर्याउँदा पञ्जाव उपाधिविहीन अवस्थामा निराश बनेर फर्कियो। उपाधि उम्कन नदिने क्रममा एपीएफका गोलरक्षक राजु नगरकोटी, डिफेन्डर राजन गुरुङ र कप्तान सुदीप शिख्राकारको प्रदर्शन उत्कृष्ट रहयो।
उपाधिसँगै एपीएफले ट्रफीसहित पुरस्कार स्वरुप १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता पञ्जावले ७ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो। पहिलो हाफमा फितलो प्रदर्शन गरेको पञ्जावले गोल गर्ने गतिलो अवसर सिर्जना गर्न सकेन।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एपीएफका आशिष लामाले मोटरसाइकल पुरस्कार पाएका छन्। एपीएफका राजु नगरकोटी सर्वोत्कृष्ट गोलरक्षक, सनिश श्रेष्ठ उत्कृष्ट डिफेन्डर, मणि लामा उत्कृष्ट मिडफिल्डर र सुदीप श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए।
सर्वाधिक गोलकर्ता विराटनगर महानगरपालिका–११ का प्रकाश बुढाथोकी बने। प्रतियोगिताभर उनको नाममा ४ गोल छ। उत्कृष्ट फरवार्ड संकटा क्लबका फोडे फोफना बने। सबैले जनही २५–२५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्।
Discussion about this post