इटहरी : नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी क्रियाशिल नयाँ सदस्य वितरण तथा नवीकरण गर्न व्यस्त रहेको छ ।
यसैबीच कांग्रेसमा नवीकरणमा खासै समस्या नरहेपनि नयाँ क्रियाशिल सदस्य वितरणमा भएको विवाद अझै सुल्झिएको छैन ।
सुनसरी क्षेत्र नम्बर ३ अन्तरगत पर्ने इटहरीका वडा मात्रै नभई दुहवी क्षेत्रका वडामा समेत क्रियाशिलताको विवाद अझै नसुल्झिदाँ समस्या देखा परेको कांग्रेस कार्यकर्ताको आरोप छ ।
नयाँ क्रियाशिल वितरणमा समस्या भएपछि वडामा विवाद उत्पन्न भएको छ । कांग्रेस इटहरी उपमहानगर समितिले प्रत्येक वडामा पुरानो नवीकरणको ७५ प्रतिशत नयाँ फारम वितरण गरेपनि सबै वडाहरुमा निर्धारित संख्या भन्दा बढी क्रियाशिल पाइएपछि विवाद उत्पन्न भएको इटहरी १० का कांग्रेस वडासभापति प्रकाश कोइरालाले बताए ।
उनका अनुसार सामान्यतयाः क्रियाशिल वितरण गर्नुपूर्व वडासभापतिसँग समन्वय गर्नुपर्ने हुन्छ । तर, इटहरीका अधिकांश वडामा भने वडा समितिका सभापतिको जानकारी बिना नै यसरी फारम वितरण गरिएपछि केही वडाका सभापतिहरुले आपत्ति जनाएका छन् । कोइरालाले आफूलाई दिएको फारम भन्दा बढी फारम अनलाइनको माध्यमबाट भरिएपछि विवाद उत्पन्न भएको बताए ।
उनले भने, ‘बैठकमा गरिएको निर्णय भन्दा विपरीत क्रियाशिल वितरण अनलाइनमार्फत भएको छ, यसकारण हामीले नगरमा निष्पक्ष छानबिनका लागि उजुरी समेत गरेका छौँ ।’
आफूलाई दिएको फारम भन्दा बढीको क्रियाशिल अनलाइनको माध्यमबाट भरिएपछि आपत्तिको विषय भएको उनले बताए । वडा नम्बर १४ का सभापति प्रकाश चौधरीले बैठकमा भएको निर्णय विपरीत क्रियाशिल वितरण अनलाइनको माध्यमबाट भएको बताए ।
यसै सन्र्दभमा विवाद भएका सबै वडाका समितिहरुले यस्ता विवादमा निष्पक्ष छानबिन गर्नका निम्ति इटहरी उपमहानगर समितिलाई ज्ञापन पत्र बुझाएर छानिबन गर्न समेत माग गरेका छन् । इटहरी ८ का कार्यवाहक सभापति जसवन्त चौधरीका अनुसार क्रियाशिल वितरणमा एकलौटी भएका कारण निष्पक्ष छानबिन हुनुपर्ने मागसहित नगरमा पत्र बुझाइएको छ ।
सुनसरी क्षेत्र नं. ३ का नेविसंघका क्षेत्रीय सचिव महम्मद अब्बु रैन्ले तत्काल समस्याको समाधान गरी अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस क्रियाशिलताको विवाद सुल्झिएर पार्टी एकढिक्का भइ अघि बढ्नुपर्नेमा जोड दिए ।
यता, इटहरीका नगरसभापति हेमकर्ण पौडेलले भने पार्टीको आन्तरिक समस्या भएकाले छलफलको चरणमा रहेको प्रतिक्रिया दिए । उनले भने, ‘पार्टीमा आएको आन्तरिक समस्या हो यो, खास ठूलो समस्या नभएपनि जिल्ला कमिटिले यसको निक्र्यौल गर्छ ।’
जुनसुकै पार्टीमा पनि आन्तरिक समस्या आउने र यो देशैभरीको समस्या रहेकाले यसको निक्र्यौल हुने उनले बताए ।
उता, नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव केदार भण्डारीले भने जिल्लाका सबैजसो क्षेत्रबाट कम्प्लेन आएपनि क्षेत्रले मिलाउने कुरा रहेको प्रतिक्रिया दिए । उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘साथीहरुको कम्प्लेन सबैतिरबाट आउनु स्वभाविक हो, सामान्य भएका त्रुटि मिलाउने कोशिश हुनेछ, तर खास क्षेत्रले मिलाउने हो ।’
उनले नयाँ क्रियाशिलताको विषयमा क्षेत्रले जिम्मा लिने भएको र नवीकरणको विषयमा भने जिल्लाले हेर्ने भएकाले समस्या निरुपण गर्न लागि परेको बताए ।
Discussion about this post