मानि लिउँ राजनैतिक पार्टी यात्रु बोक्ने एउटा बस हो । नेताहरु ड्राइभर हुन, कार्यकर्ता बसका अवयवहरु हुन् । जनता यात्री हुन् । जनता भनेका देशका पर्याय हुन् ।
ड्राइभरसँग सीप र ब्रेन हुनुपर्छ । नेतृत्वमा इमान र निष्ठा भयो भने कार्यकर्ता इमान्दार हुन्छन् । नेता र कार्यकर्ता इमान्दार निष्ठावान भए भने सिँगै पार्टी राष्ट्रवादी हुन्छ र जनताको माया पाउछ । त्यस्तो पार्टीले सरकार चलाउदा राष्ट्र अपेक्षित गन्तव्यमा पुग्छ र राष्ट्रको सम्बृद्धि हुन्छ ।
प्रसङ्ग काँग्रेसको लिउँ । सात सालमा क्रान्ति गरेको पार्टी, पन्ध्र सालमा दुईतिहाई मात्र होइन प्रचण्ड बहुमत पाएको पार्टी । छयालीस सालमा आन्दोलन सफल बनाएर स्पष्ट बहुमत पाएको पार्टी, वीपी, सुवर्ण सम्सेर, गणेशमात्र र किसुनजीले जोगाएर ल्याएको पार्टी, गत आमनिर्वाचनमा तल खस्यो । थर्ड डिभिजन प्राप्त ग¥यो ।
यतिखेर त्यो पार्टी सक्रिय सदस्य वितरणको किचलोमा फसेको छ । केन्द्रदेखि गाउँ वडासम्म किचलो फैलिएको छ । यो किचलोको खास अर्थ र उद्देश्य पनि छ । वडा, गाउँ नगर जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व छनौटमा सक्रिय सदस्यको भूमिका हुन्छ । पार्टीभित्र गुट त छदैछ ।
दुवै गुटलाई पार्टीको नेतृत्व लिनुछ । आफूले नेतृत्व लिनका लागि प्रतिष्पर्धीलाई पछार्नु परो । त्यस कामका लागि आफ्नो गोजीका सक्रिय सदस्य चाहियो ।
गोजीका सक्रिय सदस्यका लागि आफूले भनेको मान्ने मान्छे चाहियो । निष्ठाको राजनीति गरेको मान्छेले त आफ्नो विवेक प्रयोग गर्छ, गलत र सही कुरा छुट्याउँछ तर त्यस्तो कार्यकर्तालाई गुटहरुले मनपराउँदैनन् । बरु आफ्नो व्यवसायमा काम गर्ने मजदुर वा खानपिनमा बिक्री हुने अरु नै पार्टीका मान्छेलाई सक्रिय सदस्य बनायो । त्यस्ता मान्छेसँग पार्टी प्रतिको ज्ञान हुँदैन, पार्टीको त्याग र योगदानको जानकारी हुँदैन र महत्व पनि हुदैन ।
- कार्यकर्ताहरु तिनै गुटमा विभाजित भएर सक्रिय सदस्यले भर्ने फाराम खोसाखोस गरिरहेका छन् र ग्रैह्र काँग्रेसलाई सक्रिय सदस्य बनाएर भएपनि गुटको पक्षपोषण गर्ने सपना देखिरहेका छन् ।
के मात्र हुन्छ भने उसले त्यही मान्छे मात्र चिन्दछ जसले आफैँ शुल्क तिरेर उसलाई सक्रिय सदस्य दिलाएको हुन्छ । उसले त्यसलाई मात्र चिन्दछ जसले मासु र रक्सी खाने प्रबन्ध मिलाई दिन्छ र २/४ हजार रुपैया हातमा पनि हालिदिन्छ । पार्टीको आन्तरिक निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुको काम सकिन्छ । त्यसपछि उनीहरु आ–आफ्नो स्थानमा फिर्छन् आफ्नो पार्टीमा लाग्छन् । बरु के हुन सक्छ भने अलिक टाठाबाठाहरु काँग्रेससँग घुलमिल हुन्छन्, गोपनीयता लिन्छन् र आफ्नो हेडक्वाटरमा बुझाउछन् ।
यसै प्रयोजनका लागि अहिले नेपाली काँग्रेसभित्र सक्रिय सदस्यले भर्ने फारामको खोसाखोस छ, चोराचोर छ र घोचाघोच छ । के यो पार्टीको संगठन हो ? देशको चिन्ता र चिन्तन हो ? जन चाहना हो ? कदापि हैन । यस्तो काम पदलोलुप र गुटान्धहरुले मात्र गर्छन् । तर, सत्य के हो भने तिनीहरु जे गरिरहेका छन् त्यस कर्मले तिनीहरुका सन्ततीको भविष्य पनि खराव गर्छ । किन भने गलत राजनीतिले सिङ्गै मुलुकको भविष्य खराब गर्छ ।
१७ सालमा काँग्रेसको गुटभित्र राजा महेन्द्र छिरे र निर्वाचित सरकार अपदस्त भयो । मातृकाप्रसाद कोइराला र डा. तुलसी गिरी त्यसका उदाहरणहरु हुन् । ०४७ को आमनिर्वाचनले काँग्रेसलाई स्पष्ट बहुमत दिएको थियो । तर, गुटबन्दीकै कारण गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरे, त्यसपछि भएको निर्वाचनमा काँग्रेस राम्रैसँग पछारियो । त्यहीबाट सुरु भएको नेपाली काँग्रेसको राजनैतिक अवनति अहिले पनि जारी छ ।
राष्ट्रिय राजनीति होइन नेताहरु गुट चलाई रहेका छन् । कार्यकर्ताहरु तिनै गुटमा विभाजित भएर सक्रिय सदस्यले भर्ने फाराम खोसाखोस गरिरहेका छन् र ग्रैह्र काँग्रेसलाई सक्रिय सदस्य बनाएर भएपनि गुटको पक्षपोषण गर्ने सपना देखिरहेका छन् ।
के हो सक्रिय सदस्य ? नामैले थाहा हुन्छ उ मतदाता मात्र हैन, चौवन्नी सदस्य मात्र पनि होइन । उ पार्टीको बफादार र अविछिन्न कार्यरत क्रियाशील सदस्य हो । उसले पार्टीप्रति त्याग र तपस्या गरेको हुनुपर्छ ।
पार्टीको दर्शन र सिद्धान्त बुझेर त्यसप्रति निष्ठावान भएको हुनुपर्छ । आफू मात्र भएर पुग्दैन आम मान्छेलाई आफ्नो पार्टीको दर्शन र सिद्धान्त बुझाउन सकेको हुनुपर्छ । यो दर्शनबाट मुलुकले कसरी फड्को मार्न सक्छ ? भन्ने आधार र प्रमाण बुझेको हुनुपर्छ । अनि पो ठहर्छ सक्रिय सदस्य । पार्टी कब्जा गर्ने उद्देश्यले बृद्धि गरेका सक्रिय सदस्यबाट कसरी हुन्छ पार्टीको संगठन ?
(अधिकारी नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष हुन् ।)
Discussion about this post