धरान : धरान १५ मा चोरीमा संलग्न तीन जनालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
वैशाख ११ गते बिहान ९ः१५ बजे झरना विश्वकर्मा र उनको छोरा जोहन विश्वकर्मा, पूजा गर्नका लागि बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी आमा गोविन्दमाया विश्वकर्मालाई टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाई नगद २ लाख सहित लगाएका र घरमा रहेका चुरा, सिक्री, जन्तर लगायत गरगहना गरी जम्मा ११ लाख ४० हजार बराबरको धनमाल चोरी गरेका थिए।
घाइते भएकी गोविन्दमाया विश्वकर्मालाई उपचारका लागि न्यूरो अस्पताल विराटनगरमा पठाइएकोमा उपचारको क्रममा वैशाख १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडितले दिएको जाहेरीका आधार स्थानीय मानिसको सूचनाको आधारमा घटनामा संलग्न मोरङ पथरी ३ घर भइ हाल धरान १५ सुनगाभा मार्गमा बस्ने सन्तोष भन्ने ३८ वर्षीय वीरबहादुर परियार, मोरङ पथरी शनिश्चरे ५ पीपलडाँडा घर भइ हाल धरान १० पुतली लाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३,अमरहाट बस्ने २९ वर्षीय लक्ष्मी लिम्बूलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post