आवश्यकताले विकास माग्छ र विकासले सुविधा थप्नुपर्छ । विकास जनताका लागि हो । हो भने अबका विकासमा जन आकांक्षा पनि सामेल गरिनुपर्छ । विकसित देशहरुमा हामी अविकसित मुलुकका मान्छेले कल्पना गर्ने कुराहरु तिनीहरुका नागरिकलाई भौतिक रुपमै उपलब्ध गराईसकेका छन् ।
सन् १९९४ मा म जर्मनी पुगेको थिए । त्यो देशको उत्तर पश्चिम ग्रामीण क्षेत्रमा आफँै गाडी हाँकेर हामीलाई घुमाउँदै थिए सत्तरी वर्षीय एडल्फ राउ । राजमार्ग (अटोभान) होइन मध्यम खाले फोरलेन बाटो थियो । जंगल क्षेत्र थियो । एडल्फले गाडीको गति घटाएर दायाँ तर्फको कच्ची बाटोतर्फ गाडी हुले ।
कहाँ लगेका होलान् भन्ने लग्यो । एकैछिनमा उनले गाडी रोके । हामी गाडीबाट ओर्लियौं । त्यहाँ बस्ने सफा फलैँचा थिए, ट्वाइलेट थियो, फोहोर फ्याक्ने डस्टबिन थियो र पानीको प्रबन्ध थियो । त्यो निश्चित एरिया बाहेक सबै घनाजंगल थियो ।
हामी जस्तै अरु मान्छे पनि त्यहाँ गाडी रोकेर फलैँचामा बसेका थिए । कोही पानी पिउँदै थिए, कोही बोकेको खाजा खाँदै थिए । गाडीबाट ओलिएका नानीहरु खुल्ला ठाउँमा खेल्दै थिए । हामीले पनि बोकेको पानी खायौं, खाजा खायौं । पानीको बोतल र खाजा खाएका कागज डस्टबिनमा हाल्यौ र लघुशंका ग¥यौं, अनि गाडी चढेर अगाडि बढ्यौं ।

त्यतिखेरै मनमा कल्पना आएको थियो, इटहरी–धरान बीचको चारकोशे जंङ्गल, मोरङको खानेपोखरी जंगल, निजगढ वा देउखुरी पश्चिमको जङ्गलमा पनि ठाउँ–ठाउँ यस्ता सुविधा भए कति रमाइलो हुन्थ्यो होला ?
यतिखेर इटहरीको तरहरा र धरानको तीनकुने बीचको करीब ८ किलोमिटर चारकोशे जङ्गलमा चारलेनको बाटो निर्माण भइरहेको छ । सरकारको सडक विभागले यो किसिमको अवधारणा राखेको छ वा छैन थाहा भएन ।
तर, निर्माण कम्पनीले काम गरेको हेर्दा चारलेनको बाटो बाहेक अरु निर्माणको आशा गर्ने अवस्था देखिदैन । त्यसैकारण नक्सासहित यो लेख लेखेर उपभोक्ताको जिज्ञासा जागृत गर्ने र सरकारसँग आग्रह गर्ने प्रयत्न गरिएको छ ।
दिनदिनै शहरी क्षेत्रमा गाडी पार्किङको समस्या बढ्दैछ । त्यसकारण, पछि बन्ने राजमार्गहरुका लागि पनि नजीर र नमूना हुनेगरी चारकोशे जङ्गलमा दुईवटा पार्किङको व्यवस्था गरियोस् ।
पानीपियाबाट प्रवेश गरेपछि ४/५ किलो मिटरमा पश्चिमतर्फ एउटा पार्किङ, स्थल र तीनकुनेबाट दक्षिण लागेपछि ४/५ किलो मिटरमा पूर्वतर्फ एउटा पार्किङस्थल बनाइयोस् । जसमा पार्किङ, फलैँचा, फोहर राख्ने डस्टबिन, ट्वाइलेट र पानीको प्रबन्ध गरियोस् । डस्टबिनको फोहर उठाउने र ट्वाइलेट सफा गर्ने काम तीन दिनमा एकपल्ट गरियोस् ।
त्यो सफाई कार्य इटहरीको क्षेत्रमा परेमा इटहरी उपमहानगरपालिका र धरानको क्षेत्रमा परेमा भने धरान उपमहानगरपालिकाले गर्ने प्रबन्ध गरियोस् ।
यसले गर्दा मान्छेहरु एकछिन शान्तसँग सुस्ताउन पाउँछन् र दुर्घटनामा पनि कमी आउँछ । यसलाई विकास मात्र भनिदैन । अग्रगामी विकास ठानिन्छ, यसतर्फ ध्यान पुगोस् ।
Discussion about this post