धरान : धरानमा कोरोना सङ्क्रमितको शव जलाउन नदिएपछि एक पुरुषको विराटनगरमा अन्त्येष्टि गरिएको छ ।
सोमबार राति १२ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा मृत्यु भएका धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको विराटनगरमा अन्त्येष्टि गरिएको हो ।
धरान, इटहरी र चतराको घाटमा जलाउने अनुमति नभएपछि पुरुषको शव मङ्गलबार दिउँसो साढे ३ बजे विराटनगर ल्याएर अन्त्येष्टि गरिएको धरान उपमहानगरपालिका ३ का वडा सदस्य विकास वनेपालीले जानकारी दिए ।
‘धरानमा दुईवटा घाट छन्, मैले सम्पर्क गर्दा कसैले मानेनन्, चतराले पनि धरानको शव नल्याउनु भन्यो,’ उनले भने, ‘साथीहरूले इटहरीमा सम्पर्क गर्दा नल्याउनु भनेपछि परोपकार घाट विराटनगर लगियो ।’
धरानमा शव जलाउन नदिएको यो पहिलो घटना भने होइन । यसअघि शनिबार पनि स्थानीयले शव जलाउन अवरोध गरेका थिए ।
अन्त्येष्टि गर्न लगिएको शव स्थानीयले फर्काएपछि राति आफन्तले जङ्गलमा अन्त्येष्टि गरेका थिए ।
Discussion about this post