इटहरी : नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति सुनसरीले इटहरी उपमहानगरपालिकाका वडा सभापतिहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड १९ अनुगमन समिति सुनसरीका संयोजक विकास केसीका अनुसार इटहरीका २० वटै वडाका कांग्रेस सभापतिहरुलाई ६ सय पिसको दरले मास्क र पाँच लिटरको सेनिटाइजर हस्तान्तरण गरिएको हो ।
‘पछिल्लो समय इटहरीमा पनि कोरोना महामारीको अवस्था भयावह बनेकाले हामीले स्वास्थ्य सामाग्री सहयोगस्वरुप उपलब्ध गराएका हौँ,’ नेविसंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका केसीले भने, ‘इटहरी कोरोनाको डेन्जर जोनमा छ, वडाका सभापतिहरुलाई केही हदसम्म राहत पुग्छ भन्ने उदेश्यले यी सामाग्री हस्तान्तरण गरिएको हो ।’
उनका अनुसार १२ हजार पिस मास्क र एक सय लिटर सेनिटाइजर गरी करीब एक लाख ३० हजार रुपैँयाको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
नेपाली कांग्रेसका नेता रोहित प्रसाईं, जीवन न्यौपाने, विक्रम घिमिरे, उत्तम पोखरेल, अमित थापा लगायतको सहयोगमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको नेता केसीले जानकारी दिए ।
त्यस्तै, इटहरी १६ का घनश्याम खड्काले आफ्नो गाडी एम्बुलेन्सको रूपमा दिने घोषणा छ छन् । नेता केसीको पहलमा इटहरी १६ का जनतालाई उपचारका निम्ति खड्काले आफ्नो स्कारपियो गाडी एम्बुलेन्सको रुपमा दिने घोषणा गरेका हुन् ।
Discussion about this post