इटहरी : ‘हौसला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिनेरहेछ । घरमै आइसोलेट भएर बस्दा पनि केही गाह्रो भयो भनेपनि उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ ।’ इटहरीका पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले उदृत गरेको वाक्यांश हो यो । उनी नौ दिनयता कोरोना संक्रमण भएपछि घरमै आइसोलेट भएर बसेका छन् ।
सोमबार नेपाल प्रेस युनियन सुनसरीले जिल्लाको इटहरी, इनरुवा लगायतका क्षेत्रमा रहेका संक्रमित सञ्चारकर्मीहरुको घरमै डाक्टर, नर्ससहित औषधी बोकेर निःशुल्क परामर्श दिएको छ । यसैबीच डाक्टर, नर्ससहित घरमै आइपुग्दा भट्टराईले आफ्नो कोरोना अनुभव सुनाउँदै भने, ‘केही दिन निकै गाह्रो भयो, शरीर दुख्ने, सुख्खा खोकी लाग्ने, तर यसरी घरमै आएर उत्प्रेरणा दिदाँ पनि कोरोना जित्न सहज हुनेरहेछ ।’
भट्टराईलाई दोस्रो भेरियन्ट आइकन मात्रै नभई यसअघि पहिलो चरणमा पनि गत असोजमा कोरोना संक्रमण भएको थियो । दोस्रो भेरियन्टको समयमा थुप्रै मृत्यु र संक्रमणका समाचार आइरहँदा आफूले भने सकारात्मक चिन्तन र आत्मबल बढाएको उनी बताउँछन् । उनले भने, ‘घरमै डाक्टरसहित औषधी बोकेर आउनु र उत्प्रेरणामुलक सन्देश प्रवाह गर्नु सकारात्मक छ, धेरैजसो मानिसहरुले त आत्मबलले नै पनि कोरोना जितेका छन् ।’
भट्टराई एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै कोरोना संक्रमित पत्रकारहरु सुनसरी जिल्लामा ४० पुगेका छन् । दोस्रो चरणको भेरियन्ट आइकन पनि झण्डै एक दर्जन पत्रकारहरु संक्रमित भएका छन् ।
संक्रमित पत्रकारहरुको घरमै गएर ‘मोबाइल डाक्टर’ सेवा प्रवाह गर्न सुरु गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । ‘हामीले संक्रमित पत्रकारहरुलाई हौशला र आत्मबल बढोस् भनेर डाक्टर, नर्ससहित घरमै गएर औषधी दिने तथा परामर्श दिने अभियान सञ्चालन गरेका छौँ,’ उनले भने, ‘कोरोना महामारीको चपेटामा पत्रकारिता क्षेत्र पनि अछुतो रहन नसकेको र यसले पारेको नकारात्मक प्रभाव चिर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।’
उनका अनुसार गत वर्ष सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको प्रेस युनियनले कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जना सञ्चारकर्मीहरुलाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको छ ।
मोबाइल डाक्टर सेवामा संलग्न मेडिकल अधिकृत डा. अमितकुमार खतिवडाले कोरोना संक्रमित मानिसहरुलाई हौशला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताए ।
उनले भने, ‘यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचरिहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ ।’ उनले अहिले नकारात्मक समाचारहरु मात्रै आएको, महामारीको त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधी, परामर्श दिएको बताए ।
‘कोरोनाको जति त्रास छ, त्यो भन्दा बढी त्रास अफवाहले भइरहेको छ,’ डा. खतिवडाले भने, ‘यो अवस्थामा डराउनु पर्दैन भन्नका लागि प्रेस युनियनसँग सहकार्य गरेर घरमै गएर उत्प्रेरणा दिएका हौँ ।’
यसअघि न्यूरो हस्पिटल र विराट मेडिकलमा समेत काम गरिसकेका उनी अहिले सुनसरीको कालाबञ्जरमा मेडिकियर पोलिक्लिनिकमा कार्यरत छन् । अहिले विश्व नै कोरोनाको एउटै युद्धमा रहेका कारण सबैले आत्मबल बढाउनुपर्ने उनको तर्क छ ।
Discussion about this post