इटहरी : प्रेस चौतारी नेपाल इटहरी नगर कमिटिले इटहरीमा कोरोना संक्रमित पत्रकारहरुलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएको छ ।
केन्द्रिय उपाध्यक्ष लीलाराज भट्टराई, प्रदेश सदस्य हिमाल दाहाल र नगर संयोजक त्रिलोचन पौडेलको प्रतिनिधिमुलक समूहले संक्रमित पत्रकारहरुलाई भेटेको हो । सो क्रममा अक्सिमिटर र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनुका साथै अक्सिजन लेभलको जाँचसमेत गरेको छ ।
इटहरीका कोरोना संक्रमित इटहरीका ७ जना पत्रकारहरुको अक्सिजन लेभल सामान्य पाएको चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईले जानकारी दिए । सबैको अक्सिजन लेभल राम्रो रहेको र स्वास्थ्य अवस्था पनि सामान्य पाएको उनले बताए ।
‘केही साथीहरुलाई सामान्य कमजोरी तथा खोकी र सामान्य ज्वरोको समस्या रहेछ,’ उनले भने, ‘हामीले जानेको सुझाव दिएका छौं, आवश्यकता पर्दा अन्य सहयोगसमेत उपलब्ध गराउँछौं ।’
कोरोनाका संक्रमितमा अक्सिजन लेभलको कमि हुने जस्ता समस्या देखा पर्छ । अक्सिजन लेभल कमी भएमा अक्सिजन दिनुपर्ने हुन्छ भने थप औषधी उपचार गर्ने आवश्यकतासमेत पर्छ । त्यसैले अक्सिजन लेभल बेला बेलामा घरमै जाँच्नको लागि अक्सिमिटर नामक यन्त्रको प्रयोग गरिन्छ ।
टोलीले घरघरै पुगेर भेटेपछि हौसला बढेको संक्रमित पत्रकारहरुले प्रतिक्रिया दिएका छन् । साथै अक्सिमिटर यन्त्र आवश्यकता महसुस गरिरहेकै समयमा प्रेस चौतारीले उपलब्ध गराएकोमा पत्रकार प्रकाश तिम्सिनाले खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि पत्रकारहरुको आवश्यकता बुझेर सहयोग गर्न सुझाव दिए ।
नगर संयोजक पौडेलले नगरभरीका पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको जानकारी दिए । ‘पत्रकारहरुलाई आवश्यक मास्क, सेनिटाइजर, सामान्य औषधीहरु र स्वास्थ्य परामर्श जे आवश्यक पर्छ, उपलब्ध गराउने गरी तयारी गरेका छौं,’ उनले भने, ‘आवश्यकता पर्नेबित्तिकै प्रेस चौतारीलाई सम्पर्क गर्न अनुरोध गर्छु ।’
Discussion about this post