इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको सभालमा निजी स्तरबाट तयार भएको आइसोलेसन सञ्चालनमा आएको छ ।
मंगलबार इटहरीका मेयर द्धारिकलाल चौधरीले आइसोलेसनको शुभारम्भ गरेका छन् । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वमा नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीको समन्वयमा ८० बेडको आइसोलेसन सञ्चालनमा आएको उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए ।
उनका अनुसार ४० बेडमा भने अक्सिजन रहेको छ ।
इटहरी निजी क्षेत्रको पहलमा पहिलोपटक सुविधासम्पन्न आइसोलेसन सञ्चालन हुनु सकारात्मक रहेको मेयर द्धारिकलाल चौधरीले बताए । आइसोलेसनमा दुईजना डाकटर र छ जना नर्सले कोभिडका बिरामीको रेखदेख गर्नेछन् भने दश जना सुरक्षाकर्मी परिचालित छन् ।
इटहरीका विपन्न परिवारका लागि लक्षित गरी आइसोलेसन सञ्चालन गरिएको हो । इटहरीमा कोरोना संक्रमितको संख्या भयावह बन्दै गएकाले आइसोलेसन सञ्चालन गरिएका मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले बताए ।
स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको समयमा यहाँको आइसोलेसनमा बस्ने मानिसहरुलाई भने निःशुल्क खाना, बस्नको व्यवस्था रहेको छ ।
यसका साथै विभिन्न खेलकुदका सामाग्री, पुस्तक, उच्चगतिको इन्टरनेट र टेलिभजनको सुविधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । त्यस्तै, निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल सँगको सहकार्यमा ७ सय ५० रुपैँयामा पीसीआर जांचगर्ने सुविधा समेत रहेको अधिकारीले बताए ।
यसअघि इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । गतवर्ष एक सय शैया क्षमता संचालित यो आइसोलेसनमा यसवर्ष भने ५० शैयामा सीमित गरिएको छ ।
Discussion about this post