इटहरी : केही दिन अघि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले सुनसरीका पत्रकारहरुलाई सार्वजनिक स्थलमा गालीगलौज गरिन् ।
गत २ गते इटहरी अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका जिल्लाका पत्रकारहरुसहित अन्य सर्वसाधारण भएको सार्वजनिक स्थलमै उनले पत्रकारहरुलाई अनावश्यक लाञ्छना लगाउँदै पत्रकारहरुको आचरणमाथि नै प्रश्न खडा हुनेगरी गालीगलौज गरेकी थिइन् ।
पत्रकारहरुलाई गाली गरेकी गौतमले घटनाको तीनदिनपछि गल्ती स्वीकार गरी माफी मागेकी हुन् । आफ्नो आशय दुव्र्यवहारको नभइ अन्यथा अर्थ लागेको भन्दै उनले शनिबार माफी मागेकी हुन् ।
पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईका अनुसार शनिबार धरानमा अध्यक्ष राई, महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठसहित बसेको पदाधिकारीसँगको छलफलका क्रममा उपमेयर गौतमले आफ्नो गल्ती स्वीकार गरेकी हुन् ।
‘शनिबार भएको छलफलको क्रममा उपमेयर ज्यू ले गल्ती स्वीकार गर्नुभएको छ,’ महासंघ अध्यक्ष राईले भने, ‘गत २ गते सार्वजनिक स्थलमा पत्रकारहरुमाथि दुव्र्यवहार भएको विषयमा छलफल गर्दा उहाँले गल्ती स्वीकार गरी माफी माग्नुभएको हो ।’
महासंघ सुनसरीका सचिव ध्रुव ढकालका अनुसार उपप्रमुख गौतमले पत्रकारहरुलाई गाली गलौज गरी तीन घण्टासम्म खोप कार्यक्रम अवरुद्ध गरेकी थिइन् ।
पत्रकार महासंघ सुनसरीको पहलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग समन्वय गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट पत्रकारहरुका लागि तीन सय ६५ डोज खोप उपलब्ध गराइएको थियो ।
प्राप्त खोप मध्ये दुई सय २३ जना पत्रकारहरुले कोरोना बिरुद्धको खोप लगाएका थिए ।
सुनसरी जिल्लाभरीका पत्रकारहरु भेला भएको ठाउमा उपप्रमुख गौतमको अभिव्यक्ति असह्य भएको सचिव ढकालले बताए ।
Discussion about this post