इटहरी : गत १७ वैशाखमा सुनसरीको इनरुवा १ स्थित एक बिहे घरमा गएकी बालिका बलात्कार आरोपितलाई पक्रन सुनसरी प्रहरी असफल भएको छ ।
पीडितले प्रहरीकहाँ उजुरी दिएपनि सुनुवाई नभएपछि समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशनपछि प्रहरीले चासो देखाएपनि हालसम्म बलात्कारका आरोपितलाई पक्राउ गर्न सकेको छैन । बालिकालाई एक हजार रुपैँयाको नोट देखाएर स्थानीय अन्दाजी ३० वर्षीय बिजय साहले विवाह घर भन्दा केही पर लगेर जबरजस्ती बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।
पीडक युवकका आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुले प्रहरीलाई उजुरी नलिन र घटना ढाकछोप गर्न लागि परेका कुरा समेत खुलेपछि प्रहरीको भूमिका शंकास्पद देखिएको समाचार बाहिरिएसँगै प्रहरीले घटनाको विषयमा चासो लियो । तर, घटना भएको झण्डै दुई महिना बित्न लाग्दा समेत आरोपित साहलाई पक्राउ गर्न नसक्नुले प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न खडा भएको छ ।
स्थानीय पुकार चौधरी भन्छन्, ‘घटना भएलगत्तै पटक–पटक पैसामा मिल्न, घटना गाउँमै मिलाउन दबाब दिइएको थियो, स्थानीय नेताहरुकै अगुवाईमा भएको यस्तो किसिमको व्यवहारले पीडित झनै लाचार हुने अवस्था आयो ।’
घटना भएको दुई महिना वित्न लाग्दा समेत आरोपितलाई प्रहरीले पक्राउ गर्न नसक्नुले प्रहरीको भूमिकामाथि प्रश्नचिह्न खडा भएको उनले बताए ।
‘लकडाउनको समयमा भएको घटनामा पीडित कहाँ, कसरी भाग्छ,’ चौधरीले प्रश्न गर्दै भने, ‘कसैको मिलेमत्तो नभई पीडक त्यसरी भाग्नै सक्दैन, यसरी हेर्दा पनि प्रहरीको भूमिका शंकास्पद देखिन्छ ।’
उनका अनुसार घटना भएकै दिनबाट आरोपित बिजय साह घरमा छैनन् ।
पीडित बालिकाकी आमा र दिदी छन्, बुबा सानैमा बितेका कारण बोल्न सक्ने कोही मानिस नहुँदा अहिले न्यायका लागि छटपटाइरहेको स्थानीले बताउँदै आएका छन् ।
उता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीले भने प्रहरी चुप लागेर नबसेको प्रतिक्रिया दिए ।
‘आरोपित व्यक्ति भागिरहेको छ, हामीले हुलिया सार्वजनिक गरेर खोजी कार्य गरिरहेका छौँ, पुलिस चुप लागेर बसेको छैन,’ कार्कीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘यो गम्भीर केस भएकाले हामी आफैँ पनि संवेदनशील छौँ, प्राथमिकतामै राखेर संभावित एरियामा सबैतिर खोजी गरिरहेका छौँ ।’
आरोपित व्यक्ति आँखा अगाडि आओस् अनि प्रहरीले पक्रिन्छ भन्ने किसिमको प्रस्तुति भयो नि ? भन्ने प्रश्नमा डीएसपी कार्कीले भने, ‘हामी त्यसरी बस्नेभए कुनैपनि केसका मानिस पक्राउ पर्दैन थिए, इन्सपेक्टर साबको नेतृत्वमा टोली गठन गरी खोजी भइरहेको छ ।’
उनका अुनसार इन्सपेक्टर सुवास भट्टराईको नेतृत्वमा टोली गठन गरी खोजी कार्य भइरहेको छ ।
घटना भएको झण्डै दुई महिना बित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसक्नु र लकडाउनको समयमा आरोपित कसरी भाग्यो भन्ने प्रश्न उब्जिएकाले प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न खडा भएको छ ।
‘लकडाउनमा नभाग्नुपर्ने भन्ने किसिमको कुरा आउनु ठीकै हो,’ डीएसपी कार्की भन्छन्, ‘हामीले टेक्निकल रुपमा पनि यो केसलाई हेरिरहेका छौँ, अहिले सिभिलमा प्रहरी खटाएर आरोपितको खोजी भइरहेको छ ।’
सुनसरीमा बलात्कार आरोपीलाई जोगाउन चलखेल, प्रहरीको भूमिका शंकास्पद
Discussion about this post