इटहरी : प्रदेश १ का यातायात मजदुर नेताहरुले सरकारले राहत प्याकेज नल्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नं. प्रदेशको संयोजनमा मजदुर संघठनसहितका पदाधिकारीहरुले सरकारले मजदुरको हितमा आवश्यक राहत प्याकेज नल्याए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइरालाले यातायात व्यवसायी र मजदुर संगठनहरु एक हुनुको विकल्प नरहेको उदृत गर्दै सरकारले तत्काल श्रमिकलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने माग राखे ।
‘श्रमिक वर्गहरु कोभिडको प्रत्यक्ष असरमा परेका छन्, हाम्रो पहिलो माग भनेकै सरकारले कुनै हालतमा मजदुरहरुलाई भ्याक्सिन उपलब्ध गराउनुपर्यो,’ कोइरालाले भने, ‘यसबेला राज्य लाचार भएर बसेको छ, १८ गतेसम्म कुनै निर्णय नभएमा मजदुरहरु रोडमा आउन बाध्य छन् ।’
यतिबेला कोरोना महामारीका कारण रोगले भन्दा पनि भोकले मर्नुपर्ने स्थिति आइसकेको उनको भनाई थियो । आक्रोशमिश्रित भावमा उनले भने, ‘हस्पिटलमा रहेका मजदुरहरु खान नपाएर मर्नुपर्ने स्थिति छ, घरमै रहेका मजदुरहरुले पनि खान नपाएर मनुपर्ने स्थिति छ, मान्छेले खान नपाएर मर्ने दिन नआओस् ।’
मजदुरको हितका निम्ति राज्य राहत प्याकेज तथा अन्य कामबाट बिमुख भएको अवस्था आएको उनको तर्क छ । ‘अझै पनि सरकार लाचार बनिरहने हो भने श्रमिकहरु रोडमा आउनुको विकल्प छैन, रोगभन्दा पनि भोकले मर्ने स्थिति आइसक्यो ।’ उनले भने ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नं. प्रदेशका महासचिव रमेश खत्रीले कोभिडका कारण सबैभन्दा बढी मारमा परेको व्यवसाय यातायात क्षेत्र नै रहेको उल्लेख गर्दै यातायात सञ्चालन नभए अरु व्यवसाय अपांग सो सरह रहने तर्क गरे ।
‘यो व्यवसायमा जोडिएका मजदुरको हितमा सरकारले केही सम्बोधन गर्न सकेन,’ खत्रीले भने, ‘सार्वजनिक सवारी सन्चालनसँगै मजदुरलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने अवस्था छ, पहिलो चरणमा तत्कालै सबै मजदुरहरुलाई भ्याक्सिन उपलब्ध गराउन आवश्यक छ ।’
उनका अनुसार प्रदेश १ मा ३५ हजार भन्दा बढी ठूला–साना गरी सार्वजनिक यातायात रहेका छन् भने यातायात क्षेत्रसँग जोडिएका झण्डै एक लाख मजदुर छन् । उनीहरुको हितका निम्ति सरकारले काम गर्न नसकेको बताए ।
‘आयल निगमले महिनाको तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ, अब सार्वजनिक यातायातको भाडा बढाउने कि नबढाउने,’ प्रश्न गर्दै उनले भने, ‘अहिलेसम्मको ब्याज मिनाहा, कर छुटको समेत माग राखेका छौँ ।’
सरकारसँग बुँदागत रुपमा सहमति भएमात्रै यातायात सञ्चालन गर्ने अन्यथा आन्दोलन गर्न बाध्य हुने उनको चेतावनी थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज मानु मैनालीले अहिले रोगका कारण भन्दा पनि मजदुरहरु भोकले मनुपर्ने अवस्था आइसकेको बताए ।
‘श्रमिकको अवस्था दयनीय छ, गाडी व्यवसायीले पनि केही दिन सकिरहेको अवस्था छैन,’ उनले भने, ‘व्यवसायीले ऋृणको कारण देखाउँदै मजदुरलाई खान लाउन दिन सक्ने स्थिति छ भने सरकार गैरजिम्मेवार बनिरहेको छ ।’ सबै मजदुरहरुलाई कोभिड भ्याक्सिन उपलब्ध गराउँदै सहज रुपमा यातायात सन्चालन गर्न आवश्यक रहेको उनको भनाई थियो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नं. प्रदेशका उपाध्यक्ष टंकप्रसाद आचार्यले भ्याक्सिन नै विकल्प रहेको भएपनि राज्य उदासिन रहेको बताए ।
‘गरिखाने बाटो थन्किएको अवस्थामा मजदुरको चुल्होमा आगो बल्ने स्थिति छैन, मजदुरको समाधान कहिँबाट भएन,’ आचार्यले भने, ‘स्वास्थ्य, शिक्षाको जिम्मेवारी राज्यले नै लिनुपर्ने भएपनि सरकार उदासिन छ ।’
व्यवसाय रह्यो भनेमात्र श्रमिक रहने र श्रमिक रह्यो भनेमात्र व्यवसाय रहने भएकाले सबैको हित हुनेगरी सरकारले आवश्यक प्याकेज ल्याउनुपर्ने मजदुर नेता तथा यातायात व्यवसायीहरुको माग रहेको छ ।
Discussion about this post