इटहरी : सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको बिहीबार बसेको बैठकले खुकुलो बनाएर निषेधाज्ञा साउन १० गतेसम्मलाई थपेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार केही खुकुलो बनाएर निषेधाज्ञा साउन १ गतेदेखि १० गते मध्यराति १२ बजेसम्मलाई थप गरिएको हो ।
निर्णयअनुसार औषधी, खाद्यान्न, तरकारी, इन्धन, डेरी, मासुजन्य तथा बिउविजनका पसलहरु दिनभरि खोल्न दिने निर्णय भएको छ भने अन्य पसलहरुलाई बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न दिइनेछ ।
यस्तै मेला, हाट, गुद्री, सब्जीमण्डीमा भीडभाड हुन नदिने प्रशासनले जनाएको छ । राजमार्ग छेउछाउका होटल तथा रेष्टुरेष्टहरुले भौतिक दूरी तथा साबुन पानीले हात धूने, सेनिटाइजरको व्यवस्था गरेर बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ ।
साउन १ गतेदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधनहरु मापदण्ड अनिवार्य पालना गरेर सञ्चालन गर्न पाउने पनि निर्णय भएको छ ।
Discussion about this post