मोरङ : मोरङको धनपालथान गाउँपालिका ४ मा आइतबार राति एक महिला मृत फेला परेकी छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घरबाट लगभग ५० मिटरको दूरीमा रोपाइँ गरिसकिएको खेतमा स्थानीय ३५ वर्षीया जानकीदेवी मुखिया मृत अवस्थामा फेला परेकी हुन् ।
शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण यकिन हुने डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार जानकीदेवीले पालेको हाँस हराएको र खोजी गर्ने क्रममा केही दिनअघिदेखि छिमेकीसँग उनको विवाद भएको पाइएको छ । महिला मृत फेला परेपछि उनीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीले जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरु ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उनकी श्रीमती सती मुखियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।
Discussion about this post