इटहरी : अहिलेको एक्काइसौं शताव्दी भनेको सञ्चारको युग हो । हिजोआज कुनैपनि गाउँका स्थानीय मानिसले कुनैपनि कुनामा बसेर सामाजिक सञ्जाल, अनलाइन मार्फत आफू बसेको ठाउँदेखि संसारभरीका समाचार, जानकारी र मनोरञ्जन लिन सक्छन् ।
नेपालमा समेत आएको सञ्चार क्रान्तिको यो अवस्थाले विभिन्न चलिरहेका पत्रपत्रिकाको अवस्था समेत नाजुक बन्दै गइरहेको छ । ०७४ असोज १ गतेदेखि सुनसरीको तरहराबाट सञ्चालन हुनेगरी टाकुरा साप्ताहिकको दर्ता भयो । त्यसअघि जिल्लामा दैनिक, साप्ताहिक, मासिक गरी अन्य १ सय ८७ वटा पत्रपत्रिका दर्ता रहेछन् । अर्थात्, टाकुरा साप्ताहिक १ सय ८८ औैँ नम्बरमा दर्ता भयो ।
पछिल्लो समय कोरोना भाइरसको कारणले पनि धेरैजसो पत्रपत्रिका निरन्तर प्रकाशित भएका छैनन् । धेरैजसो पत्रपत्रिका पूर्णरुपमा बन्द रहेका छन् । स्थानीयस्तरका समस्यालाई उठान गर्नका निम्ति, तरहरामा रहेका सकारात्मक, नकारात्मक पक्षहरुलाई उजागर गर्ने उदेश्यलाई उच्च प्राथमिकतामा राख्दै यहाँका सर्वसाधारणका समस्या उजागर गर्नका निम्ति तथा यहाँका विभिन्न निकायहरूलाई खबरदारी गर्नका निम्ति पत्रिकालाई प्रकाशनमा ल्याउँदा हामी उत्साहित भएका थियौँ ।
स्थानीय ठाउँलाई विकास गर्नका लागि आवश्यक सबै आधारभूत कुराहरूको उपलव्धता जरुरी हुन्छ । सोही दृष्टिकोणले तरहरामा स्थानीय पत्रिकाको प्रभावकारी उपस्थिति जनाउन पनि ‘टाकुरा’ प्रकाशन गर्ने आँट गरेका थियौँ । तर, कोरोनाका कारण पत्रिका करीब तीन वर्ष प्रकाशन हुन नपाउँदै बन्द अवस्थामा रह्यो । तर, हामी पत्रिका बन्द भएपनि नथाक्ने अभ्यास गर्न थाल्यौँ । सोही अनुरूप पत्रकारिताको माध्यमबाट समाज रूपान्तरण गर्नका लागि हामीले अनलाइन पोर्टलको सूरूआत गरेका हौँ ।
पछिल्लो केही वर्षयता प्रविधिको बढ्दो प्रयोगसँगै नेपालमा अनलाइन माध्यमलाई रुचाईँदै आएको छ । तर, विश्वसनीय अनलाइन माध्यमको अभावमा पाठकले स्तरीय समाचार पढ्न नपाइरहेको महसुस गरेका छौँ । सकेसम्म आफैँले उत्पादन गरेका, स्थानीय स्तरका समाचारलाई प्राथमिकता दिनका लागि हामीले अनलाइन पोर्टलमा समाचार अपडेट गर्ने अभ्यास गरिरहेका छौँ ।
अनलाइन पोर्टल सञ्चालन गर्नु ठूलो कुरा होइन, तर यसलाई निरन्तरता दिनु र स्तरीय समाचार पाठकसामू पस्कनु हाम्रा लागि निकै चुनौतीपूर्ण छ ।
यो चुनौतीलाई समाधान गर्दै, आगामी दिनमा इटहरी क्षेत्रलाई विशेष प्राथमिकता राखेर प्रदेश १ मा भएगरेका विभिन्न पक्षहरुलाई उठान गर्नेछौँ । सत्तालाई निरन्तर प्रश्न गरिरहनेछौँ, निरन्तर खबरदारी गरिरहनेछौँ ।
साथै, यहाँहरुको माया, प्रेम र निरन्तर सहयोगले हामीलाई टाकुरामा पुग्न भने अवश्य सफल बनाउँनेछ भन्ने विश्वास व्यक्त गर्दछौं ।
Discussion about this post