इटहरी : आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ ।
इटहरीमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले बिहीबारदेखि एक सातासम्म इटहरीस्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए ।
छनोट खेलका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखी अशोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।
इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाण्डौमा राखिने प्रशिक्षक टमटाले बताए । क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिलाक्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ ।
गतवर्ष सम्पन्न प्रधानमन्त्रीकप र मेयर्स कप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो । देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई ब्यक्तिगत र सानो सानो समुहमा प्रशिक्षण गराउदा प्रभावकारी हुने भएकाले क्यान यस्को तयारीमा जुटेको प्रशिक्ष कटमटाको भनाइ छ ।
प्रशिक्षणमा प्रदेश दुइका ३जना सहित झापा, मोरङ र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक बिप्लव घोषले जानकारी दिए ।
मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बर सम्म हुने बताइएको छ । जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
Discussion about this post