इटहरी : इटहरी उपमहानगरपालिका २ मा रहेको इपिल्याण्ड एण्ड वाटरपार्क पुनः सञ्चालनमा आएको छ । गत फागुनबाट सञ्चालनमा आएको पार्क कोभिडका कारण वैशाखदेखि बन्द अवस्थामा थियो । पार्क बुधबार (आज) देखि पुनः सञ्चालनमा आएको हो ।
फनपार्कका सन्चालक पूर्व डीआईजी ज्ञानविक्रम साहले अब पूर्ण रूपमा पार्क सञ्चालन भएको बताए । उनले भने, ‘कोभिडका कारण अघिल्लै वर्ष सञ्चालनमा आउने पार्क फागुनमा मात्रै उद्घाटन भएको थियो, दुई महिना सञ्चालन हुन नपाउँदै फेरि बन्द गर्नुपर्ने अवस्था आइपर्यो ।’
स्थानीय तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको रूपमा रहेको पार्कमा स्थानीय पर्यटकलाई विशेष छुट समेत रहेको उनले बताए । ‘हामीले स्थानीयलाई विशेष छुटको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘टिकट काटिसकेपछि यहाँ सबै प्रकारबाट मनोरञ्जन लिन सकिन्छ ।’
पार्कका अध्यक्ष भीम पौडेलले यस ठाउँको स्तरोन्नति र विकासका लागि आफूहरूले ठूलो लगानीमा पार्क सञ्चालनमा ल्याइएको बताए । ‘ठूलो लगानी भएपनि जम्मा दुई महिना मात्रै सञ्चालन भयो,’ उनले भने, ‘अहिले विशेष अफरसहित पार्क सञ्चालनमा ल्याएका छौँ ।’
उनका अनुसार ७ सय ५० रुपैँयाको टिकट अहिले पाँच सय र तीन सय रहेको छ । पार्कमा पूर्वको सबैभन्दा ठूलो वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय मानिस अटाउने वेभ पुल, जीप लाइन, बोटिङ गर्दै लोप भइसकेका जनावरको इलेक्ट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको उनको भनाइ छ ।
यस्तै, पार्कमा एकैपटक ६ हजार बढी पर्यटकले अवलोकन तथा अनुभव गर्न सकिने भएकाले दुई महिनाको अवधिमै तीस हजार भन्दा बढी मानिसहरूले अवलोकन गरेको उनले बताए । केही सातायता भारतको जोगबनी, बिहार जस्ता ठाउँबाट पनि पर्यटक आउने गरेको पौडेलले बताए ।
साथै विश्व भ्रमण दिवसको अवसरमा नेपाल सरकारको पर्यटन मन्त्रालयबाट पार्क सम्मानित समेत भएको उनको भनाइ छ । गत फागुन १७ गते एक औपचारिक कार्यक्रमकाबीच तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्कको उद्घाटन गरेका थिए ।
यो पनि – इटहरी आएर पर्यटनमन्त्री ढकालले भने, ‘जनताको समस्या समाधान गर्न सरकार साथमा छ’
Discussion about this post