इटहरी : इटहरीको बसपार्क छिर्ने लाइनका मासु पसलमा मूल्य सूची नराखी बेच्ने गरेको पाइएको छ ।
उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा आज बजार अनुगमन गर्दा बसपार्क छिर्ने लाइनका मासु पसलमा मूल्य सूची नराखी बेच्ने गरेको पाइएको हो ।
उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहितको टोलीले अनुगमन गरेको हो ।
सात वटा मासु पसल अनुगमनका क्रममा एउटा पसलबाट तीन केजी बासी बोसो समेत जफत गरि नष्ट गरिएको छ ।
दुई वटा पसलले व्यवसाय नवीकरण नगरेको भेटिएको छ । यसअघि अनुगमन गरिएका मासु पसलहरूमा सुधार भएको पाइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।
अनुगमनका क्रममा मासु पसलले पालना गर्नुपर्ने मापदण्डबारे जानकारी गराइएको र अर्को पटक अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने शाखा प्रमुख भट्टराईले बताए ।
Discussion about this post