इटहरी : भीम आचार्य नेतृत्वको प्रदेश १ सरकारको आयु दुई दिन लम्बिएको छ । शुक्रबार मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम सदनमा प्रस्ताव पेस भएको हो । शुक्रबार प्रदेशसभामा आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ ।
आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ७ गते आइतबार दिउँसो साढे १२ बजेका लागि बैठक बस्नेगरी शुक्रबारको बैठक स्थगित गरे । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजन सम्बन्धी प्रक्रिया सुरु हुने भन्दै उनले बैठक स्थगित गराएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीका अनुसार शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने जानकारी दिए । बागमती प्रदेशमा विश्वासको मत लिनेदिन कात्तिक १० सम्म धकेल्न सफल भएसँगै नेकपा एमालेले प्रदेश १ मा पनि त्यही प्रयासमा जुटेको थियो ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । ९३ सदस्यीय प्रदेश सभामा अहिले कायम रहेका ९२ मध्ये बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । ९२ सांसदमध्ये नेकपा एमालेका ३९ मात्र सांसद रहेका छन् ।
एमालेसँग हाल सभामुख र एक जना फरार सूचीका सांसदबाहेक ३९ सिट मात्र छ । विपक्षी गठबन्धनको कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १ जना सांसद छन् । त्यस्तै, राप्रपाका एक सांसद भने तटस्थ बस्ने भएका छन् ।
एमाले विभाजनले औपचारिकता पाएसँगै आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्मयन्त्री बनाउने तयारी थालिएको छ ।
Discussion about this post