इटहरी : इटहरीका एक पुरुष सप्तकोसीमा हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नगेन्द्र कार्कीका अनुसार इटहरी १ का ५८ वर्षीय तिलकप्रसाद दाहाल शनिबार (आज) ११ः३५ बजेतिर सप्तकोसीमा हामफालेका हुन् । दाहाल ओखलढुंगा वर्नाले २ घर भइ हाल इटहरी १ मा बस्दै आएको खुलेको छ ।
‘इटहरीका मानिस रहेको खुलेको छ,’ डीएसपी कार्कीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘अहिले खोजी कार्य भइरहेको छ, के कारणले हामफालेको भन्ने खुलेको छैन ।’
उनका अनुसार कोसी ब्यारेजको १३ नम्बर ढोकाको उत्तर साइडबाट को ३६ प ९२५५ नम्बरको मोटरसाइकल राखेर उनी नदीमा हामफालेका हुन् । मोटरसाइकल, चप्पल र पर्स एकैठाउँ रहेको डीएसपी कार्कीले जानकारी दिए ।
उनी इटहरीबाट ब्यारेजसम्म मोटरसाइकलमा गएको र त्यहीँ रोकेर हामफालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, प्रहरीले थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
ब्यारेजमा आएपछि परिवारलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी समेत गराएको भन्ने खुलेको प्रहरीले जनाएको छ । अहिले स्थानीय माझीसहित दाहालको खोजी कार्य भइरहेको भएपनि नभेटिएको प्रहरीले जनाएको छ ।
हामफालेका दाहालका छोरा तथा आफन्त पनि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
Discussion about this post