इटहरी : शनिबार दिउँसो इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठान नेपालको भवनमा एक, दुई गर्दै झण्डै सयको संख्यामा मानिसहरू भेला भए । केहीदिनअघि आएको बाढीले हिलो बनाएको बाटोको प्रवाह नगरी मानिसहरू भेला भएको केहीबेरमै सभाहलमा मधूरो संगीत बज्न थाल्यो ।
चर्चित बाँसुरी बाधक नगेन्द्र विक्रम राईले बजाएको बाँसुरीको धूनमा आमान्त्रित श्रष्टा तथा अन्य मानिसहरू मन्त्रमुग्ध बने । राईले डेढ दर्जन बढी संगीतका धून बजाएर आमन्त्रित मानिसहरूको ध्यान खिचेका थिए ।
बाँसुरी प्रशिक्षक समेत रहेका राई खोटाङ हलेशीका हुन् । संगीत साधना प्रतिष्ठानले ‘सप्तक’ कार्यक्रमको छैठौँ श्रृङ्खलामा राईलाई उम्भ्याएको हो । शास्त्रीय संगीतको ज्ञान लिएका उनी अहिले पूर्व आएको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीका महासचिव राजु केसीले बताए ।
‘अहिले उनी अन द वे को प्रोग्रामममा भएपनि हामीले इटहरीमा रोकेर यो कार्यक्रमको आयोजना गरेका हौँ,’ केसीले भने, ‘पछिल्लो समय संगीत साधनाले बाध्यबाधक कसरी उत्पादन गर्ने भन्ने विषयमा सप्तक कार्यक्रम पुनः सुरु गरेको छ ।’
उनका अनुसार यसअघि प्रतिष्ठानले २८० श्रृङ्खलासम्म ‘सप्तक’ कार्यक्रम आयोजना गरेको थियो । अहिले दोसा्रे श्रृङ्खलाको छैठौँ भाग शनिबार आयोजना गरिएको केसीको भनाइ छ । ‘सप्तककै नामबाट सृजनाका कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘नेपाली गीत, संंगीत, सृजनाका कार्यक्रम गर्ने उदेश्यले सप्तक अभियान नै सञ्चालन गर्नेगरी तयारी थालेका छौँ ।’
केसीका अनुसार नयाँ पुस्तामा पनि बाध्यबाधकबारे जानकारी दिने उदेश्यसँगै बाध्यबाधक उत्पादन गर्ने लक्ष्यले ‘सप्तक’ कार्यक्रम गरिदैँ आएको छ । ‘संगीत भनेको गाउनु र रेकर्डिङ गर्नु मात्रै होइन, साधनाका लागि धैर्यता हुनुपर्छ,’ उनले भने । यसअघि गत साताको श्रृङ्खलामा कवि लीला अनमोलको एकल कविता वाचन कार्यक्रम राखिएको थियो ।
सप्तकमा हालसम्ममा देशभरका धेरै कलाकारहरू सहभागी भइसकेका छन् । रामकृष्ण ढकाल, प्रमोद खरेल, यम बराल, नरेन्द्र प्यासी, शान्ति ठटाल, मणिकमल क्षत्री, बुलु मुकारुङ, अम्बर गुरुङजस्ता गायक तथा संगीतकारहरू सहभागी भइसकेका छन् ।
Discussion about this post