इटहरी : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले विदेशसँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने आश्वासन दिलाएका छन् ।
प्रदेश १ का विभिन्न जिल्लामा बाढीपहिरोले पारेको प्रभावबारे बुझ्न आएका देउवाले आइतबार (आज) बिहान इटहरी १७ स्थित सशस्त्र प्रहरी बलको प्राङ्गणमा आयोजित एक कार्यक्रममा देशमा भएका स्रोत, साधनको प्रयोग कम भएमा विदेशसँग मागेर भएपनि बाढीपीडितको घाउमा मल्हम लगाउने बताएका हुन् ।
‘धेरै ठाउँमा किसानहरूको धान बाढीले कुहाएको छ, यसले गर्दा किसानलाई धेरै नोक्सान छ,’ देउवाले भने, ‘अहिले भएको साधन, स्रोतको प्रयोग कम भएमा विदेशसँग मागेर भएपनि केही न केही गर्छौँ, एउटा प्याकेज बनाएर काम गर्छौँ ।’
उनले विपत्ति ढोल बजाएर नआउने तर्क गर्दै भने, ‘विपत्ति ढोल बजाएर आउँदैन, अचानक आइदिन्छ, यसैकारण पनि नेपालमा अरबौँको क्षति भएको छ, म काठमाडौँ जानासाथै केही न केही गर्छु ।’
उनले अहिले बाढीपहिरोमा परेकाहरूलाई अल्पकालीन रूपका लागि भएपनि काम भइरहेको बताए । देउवाले भने, ‘अहिले अल्पकालीन कामहरू भइरहेको छ, जुन तत्काल आवश्यक छ, ती ठाउँमा भइरहेका छन्, दीर्घकालीन कामका लागि पनि पहल भइरहेका छन् ।’
उनले आफू काठमाडौँ फर्किएपछि मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट पीडित परिवारको पुर्नस्थापनाका लागि सकारात्मक काम गर्ने प्रतिबद्वता जनाएका थिए । ‘अहिलेको लागि मानिसको जीवन बचाउँनु हो, उद्वार गर्नु हो, बसोबासको व्यवस्था गर्नु हो,’ देउवाले भने, ‘ती कामहरू भइरहेका छन् ।’
प्रदेश १ का सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लाहरूमा बाढीले पारेको प्रभावबारे अनुगमन गर्न आएका प्रधानमन्त्री देउवाले करीब चार मिनेट सम्बोधन गरेका थिए ।
हेलिकोप्टरमा आएका उनीसहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पम्फा भुषाल लगायत सहभागी थिए । कार्यक्रममा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बाढीले पारेको क्षतिबारे जानकारी गराएका थिए ।
Discussion about this post