इटहरी : नेपाली कांग्रेस गुटभन्दा माथि उठेर आम मानिसको हितका निम्ति विकासका काम गर्न नेताहरूले सुझाएका छन् ।
सुनसरी क्षेत्र नं. २ (क) का नवनिर्वाचित पदाधिकारीहरूलाई मंगलबार (आज) प्रमाणपत्र वितरण कार्यक्रममा नेताहरूले निर्वाचनताका पक्ष, विपक्ष रहेपनि निर्वाचन सकिएपश्चात कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेविसंघका सभापति तथा महाधिवेशन प्रतिनिधि राजीव ढुंगानाले चुनावले कार्यकर्तामा उत्साह थपेको बताए । कांग्रेसको मुख्य कुरा भनेको अबको आम निर्वाचनमा कांग्रेसलाई जिताउन आवश्यक रहेको उनले बताए ।
‘अहिले आशापूर्ण रूपमा कांग्रेसलाई जनताले हेरेका छन्, आम निर्वाचनमा जित्नका लागि कांग्रेस एक हुनुपर्छ,’ उनले भने । एमालेले अहिले स्थानीय सरकारको नेतृत्व गरेपनि जनतामा भ्रम सृजना गर्ने बाहेक अरू काम नगरेको उनले बताए ।
कांग्रेस क्षेत्र २ (क) का सभापतिका प्रत्याशी धनबहादुर पुरीले आफू चुनावमा उपविजेता भएपनि सकारात्मक काम गर्न सधैं साथमा रहेको बताए । ‘राजनीतिमा यो मेरो पहिलो अभ्यास थियो,’ उनले भने, ‘हामी संस्कारको राजनीति गर्नका लागि पनि म चुनावी मैदानमा होमिएको हुँ, गुटको कारण अहिले हामी चोकमा बसेर चिया खानपनि डराउनुपर्ने अवस्था छ ।’
उनले कांग्रेसमा गुट–उपगुटका कारण अहिले कसैसँग बसेर चिया खान पनि डराउनुपर्ने अवस्था आएको तर्क गरे । ‘चोकमा बसेर मैले विकास केसीसँग, हेमकर्ण पौडेलसँग, मणिराम श्रेष्ठसँग वा अरू कोही मानिससँग पनि बसेर चिया खान डराउनुपर्ने स्थिति छ,’ पुरीले भने, ‘यसको म विरोधी हुँ, पहिल्यैदेखि यी कुराबारे आवाज उठाउँदै आएको छु, कसैसँग बसेर चिया खादैँमा कसैको मान्छे हुँदैन, हामी सबै कांग्रेस हौँ ।’
उनले आफू कोही व्यक्तिको मानिस नभइ कांग्रेसको असल कार्यकर्ता रहेको बताए । ‘पार्टीको आन्तरिक निर्वाचनमा जीत, हार सामान्य कुरा हुन्,’ उनले भने, ‘क्षेत्रताको हिसाबमा तरहराले चुनाव जितेको छ, अब राम्रो काम गर्नका लागि मेरो तर्फबाट टिमलाई सकारात्मक साथ रहनेछ ।’
कार्यक्रममा नवनिर्वाचित सभापति सुबेक्छु देवानले कांग्रेस सुनसरी २ (क) लाई एक नम्बर बनाउन अहम् भूमिका रहने बताए । ‘चुनावी दौरानमा जसले जे भने पनि नेताले नेता चुन्ने अवसर थियो यो,’ उनले भने, ‘सबैको साथ, सहयोग र भरोसा लिएर काम गर्नेछौँ ।’
कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसीले कांग्रेस एक हुनुको विकल्प नरहेको बताए । ‘कुनै गुट–उपगुट नगरीकन काम गर्नका लागि सबैले प्रोत्साहन गर्नुपर्छ,’ केसीले भने, ‘हामी सबै कांग्रेस भएकाले गुट–उपगुटलाई सिध्याएर जानुपर्छ ।’
कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि भीम पौडेल, महाधिवेशन प्रतिनिधि विमला ढकाल, कांग्रेस इटहरी नगर सचिव विक्रम घिमिरे लगायतले बोल्दै कसैलाई लान्छना लगाउने नभइ इटहरीको विकासका निम्ति प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका थिए ।
तस्वीरहरू : सुमन रेग्मी ।
यो पनि – नेविसंघका सभापति राजीव ढुंगाना कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै
Discussion about this post