इटहरी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा डा. शेखर कोइरालालाई भारी मतान्तरले पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भएका छन्।
पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि दोस्रो चरणको चुनावबाट उनी सभापति चुनिएका हुन्।
मङ्गलवार पुनः भएको निर्वाचनमा कूल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६२३ ले मत खसालेका थिए । उक्त मतमध्ये देउवाले २,७३३ मत पाए भने कोइरालाले १,८५५ पाए।
देउवाले पाएको मत कुल प्रतिनिधिको ५७.६२ प्रतिशत हो।
३५ मत बदर भएको दोस्रो चरणको निर्वाचनमा पहिलोमा भन्दा ५६ मत कम खसेको थियो।
पहिलो चरणमा देउवाको विरुद्धमा सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई चुनाव जित्न सहज बनेको थियो।
सोमबारसम्म पहिलो चरणमा सभापति नछानिए देउवालाई समर्थन नगर्ने भनिरहेका निधि र सिंह दुवैले साथ नदिँदा कोइराला भने पराजित हुन पुगेका हुन् ।
Discussion about this post