धरान : धरानमा तीन दिनसम्म ‘धरान डे’ मनाइने भएको छ । बुधबार (आज) मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पौष २०, २१ र २२ गते ‘धरान डे’ मनाइने निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाले पौष २० गतेलाई ‘धरान डे’ को रुपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्र्ष मनाउने गरेको छ ।
पौष २० गते पहिलो दिन बिहान ११ बजे धरान १२ स्थित पब्लिक हाईस्कुलबाट सांस्कृतिक झाकी सहितको र्यालि निकालिने छ भने दिउँसो १ बजे कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्नेगरी कार्यक्रमको तयारी गरिएको छ ।
सोही दिन पब्लिक हाइस्कुलको प्राङ्गणमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक कार्यक्रम हुनेछ ।
यस्तै, दोस्रो दिन बिहान ७ बजे धरानका सबै वडाहरुमा वडा कार्यालय मार्फत टीएलओ परिचालन गरी वडा सरसफाई गर्ने, संघसंस्था परिचालन गरी जिरोप्वाईन्टदेखि तीनकुनेसम्म प्लाष्टिक सरसफाई कार्यक्रम र साइक्लिङ आयोजना हुने बताईएको छ ।
सोही दिन बिहान साढे १० बजे धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठी, दिउँसो १ बजे धरानको दीर्घकालीन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुति र छलफल हुनेछ भने सोही दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक कार्यक्रम हुनेछ ।
यस्तै, तेस्रो दिन बिहान साढे १० बजेदेखि लोक जुवारी कार्यक्रम हुनेछ भने दिउँसो साढे १ बजे जातीय सांगीतिक कार्यक्रम प्रस्तुति हुनेछ ।
सोही दिन दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पब्लिक हाइस्कुलको प्राङ्गणमा रस्सी तान प्रतियोगिता हुनेछ भने साढे २ बजे कार्यक्रम समापन गरिनेछ । बेलुका ४ बजेदेखि ५ बजेसम्म पोखराको सांस्कृतिक प्रस्तुति, साँझ ५ बजेदेखि धरानका कलाकारको प्रस्तुति रहने जनाइएको छ ।
मेयर राईले धरानमा रहेका जातीहरूको साँस्कृतिक भेषभूषा, गरगहना, जातीय नाच र खानपानलाई विशेष बाह्य तथा आन्तरिक पर्यटकहरूमा जानकारी गराउन उत्सव आयोजना गर्न लागिएको बताए ।
पौष २० गते पहिलो दिन धरान उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक विदा दिने समेत निर्णय भएको छ ।
Discussion about this post