इटहरी : दिनको ठीक एक बजे । ट्याङ्–ट्याङ् घण्टी बज्छ । घण्टीको आवाजसँगै आमन्त्रित अतिथिहरू हलभित्र प्रवेश गर्छन् ।
हलभित्र प्रवेश हुनासाथ मधूरो धूनमा बजिरहेको संगीतले सबै मन्त्रमुग्ध बन्छन् । केहीबेरमै कार्यक्रम सुरु हुन्छ । र, कवि श्रवण कविताको लयमा रम्न थाल्छन् ।
आज (शनिबार) विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकलमा आयोजना गरिएको काव्य श्रृङ्खला ‘काव्यरोहण’ को नवौँ श्रृङ्खलामा देखिएको दृश्य हो, यो ।
प्रसिद्व कवि तथा गीतकार समेत रहेका मुकारुङले ‘आवाज नआइपुग्ने मेकको उज्यालो’, ‘म्याडम गीता’, ‘डिप्रेसनमा राम’, ‘हुमानसिंह भुजेलको भैँसी’, ‘गाउँ र आमा’, ‘मोहन कोइराला’, ‘मोहन कोइराला’, ‘मानिसको मृत्यु’ र ‘बिसे नगर्चीको बयान’ गरेर आठवटा कविता सुनाए ।
उनले गद्य कवितामा स्वतन्त्रता हुने भएकाले लेखनमा मज्जा हुने तर्क राखे । उनले भने, ‘गद्य कवितामा स्वतन्त्रता असीमित हुने भएकाले लेख्नमा मज्जा हुन्छ ।’ कवितामा आम मानिसको जीवन लेखिनुपर्ने उनले बताए ।
आरोहण गुरुकुलले २०७६ मंसिर ७ गतेबाट सुरु गरेको ‘काव्यारोहण’ हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कवि रमेशचन्द्र अधिकारीले बताए । यसअघि वैरागी काईँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ र कुन्ता शर्मा, सुमन पोखरेलले काव्यारोहणमा कविता सुनाएका छन् ।
कवि रमेशचन्द्र, धीरज राई र दीपेश भण्डारीले संयोजन गर्दै आएको कार्यक्रम हरेक महिनाको पहिलो शनिबार आयोजना गरिदैँ आएको आरोहण गुरुकुलमा अध्यक्ष भैरव क्षेत्रीले बताए ।
वि.सं. २०२५ जेठ २६ गते भोजपुरमा जन्मिएका मुकारुङका दर्जनौँ कविता तथा गीतहरू चर्चित छन् ।
Discussion about this post