इटहरी : देशभरीका बहालवाला सरकारी कर्मचारी तथा सेवा निवृत्त कर्मचारीहरूको कविता सङ्ग्रहित गरी कविता सङ्ग्रह प्रकाशित गरिने भएको छ ।
एकीकृत सरकारी कर्मचारी नेपाल सुनसरीले प्रकाशन गर्न लागेको कविता सङ्ग्रहका लागि देशभरीका सरकारी कर्मचारीले कविता पठाउन आह्वान गरिएको छ ।
‘राष्ट्रसेवक काव्यकुञ्ज’ नाम दिइएको पुस्तकमा देशैभरीका बहालवाला तथा सेवा निवृत्त कर्मचारीहरूको कविता समावेश गरिने एकीकृत सरकारी कर्मचारी नेपाल सुनसरीकी उपाध्यक्ष वर्षा तिम्सिना भट्टराईले बताइन् ।
‘सेवा निवृत्त भएका स्थापित तथा नूतन कविहरूको कविता सङ्ग्रह समावेश गरेर तयार गरिने सङ्ग्रह बृहत हुनेछ,’ उनले भनिन्, ‘सरकारी जागिर खाएर पनि कविता लेख्न सकिन्छ भन्ने उदाहरणको रूपमा संङ्ग्रह प्रकाशन गर्न लागेका हौँ ।’
उनका अनुसार साहित्य क्षेत्रमा एउटै पाठक, एउटै स्रोता र एउटै सर्जक भएकाले यसको क्षेत्र अलिक बृहत् बनाउनका लागि पनि सरकारी कर्मचारीहरूले लेखेका कविता प्रकाशन गर्न लागिएको हो ।
उनका अनुसार वैशाख अन्तिम सम्ममा सङ्ग्रह तयार गरी प्रकाशन गरिनेछ ।
एकीकृत सरकारी कर्मचारी नेपाल सुनसरीका अध्यक्ष गणेशप्रसाद भट्टराईको संयोजकत्वमा तयार हुन लागेको पुस्तकका लागि कविता पठाउन आह्वान गरिएको छ । कविता पठाउनका लागि [email protected] मा इमेल गर्न सकिनेछ ।
Discussion about this post