इटहरी : इटहरी गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
शनिबारबाट इटहरी रंगशालामा सुरु भएको इटहरी गोल्डकपको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी विजयी भएको हो ।
बाह्रौ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पहिलो हाफको २९ औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे भने पहिलो हाफकै ३९ औँ मिनेटमा भरत खवासले गोल गरे ।
यता, आयोजकका तर्फबाट विजय भुजेलले ६९ औं मिनेटमा १ गोल फर्काए । खेलको म्यानअफ द म्याच आर्मीका भरत खवास घोषित हुँदै नगद १० हजार हात पारे ।
चैत २६ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी छन् ।
जसमा मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, झापा ११, मोरङ ११, आयोजक राष्ट्रिय जागृती क्लब, न्यूरोड टिम काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजङ्गा फुटबल क्लब भारत रहेका छन् ।
विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिता अन्तर्गत आइतबारको खेल ए डिभिजन क्लब मनाङ् मस्र्याङ्दी र कञ्चनजङ्गा फुटबल क्लब भारतबीच हुनेछ ।
कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको छ ।
Discussion about this post